जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने, कर्जाको भने घट्ने

काठमाडौं । बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेका हुन् ।

वैशाखमा ब्याजदर घटाएको बैंकहरुले जेठमा भने स्थिर राख्ने निर्णय गरेका हुन् । बैंकहरुले बैशाखमा १.०१ प्रतिशत बिन्दुले ब्याजदर घटाएर निक्षेपको ब्याजदर एकल अंकमा झारेका थिए ।

व्यक्तिगत मुद्दती खातामा अधिकतम ९.९ प्रतिशत, साधारण बचत खातामा न्यूनतम ५.४ देखि अधिकतम् ७.४ प्रतिशतसम्म ब्याजदर कायम गरेका थिए ।

यद्यपि बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाए पनि कर्जाको ब्याजदर भने घट्ने भएकाे छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो ।

बैंकहरुले बैशाखमा निक्षेपको ब्याजदर घटाएकाले उनीहरुले लागत घटेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *