काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि कांग्रेस वृत्तमा कम्पन गएको छ । खाँण पक्राउ परेकामा भन्दा यो प्रकरणको लहरो तानिँदै जाँदा आफ्नै श्रीमती आरजु राणासम्म आइपुग्ने भयले सभापति शेरबहादुर देउवालाई बढी चिन्तित बनाएको उनीनिकट नेताहरू बताउँछन् । पार्टीको आमूल रूपान्तरणको मुद्दा उठाएर अभियानमा जाने तयारीमा रहेको कांग्रेसभित्रको एउटा पक्षले भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेरै धन्यवाद दिएको छ ।
देउवा बुधबार बिहान ९ बजेदेखि नै नेता–कार्यकर्ता भेटघाटमा जुटेका थिए । गण्डकी प्रदेश सरकारमा मन्त्री बनाउने विषयलाई लिएर बागलुङबाट आएको कांग्रेसको एउटा टोलीसँग बाहिर कुरा गरिरहेका बेला देउवालाई खाँण पक्राउ परेको खबर सुनाइएको थियो । खबर सुन्नासाथ उनी जुरुक्क उठेर भित्र गए । पछि बाहिर आउँदा निकै तनावमा देखिएको एक कार्यकर्ताले बताए । उक्त टोलीपछि देउवाले कोशी प्रदेशका कांग्रेस सांसदको डेलिगेसनसँग एकछिन छलफल गरे । कोशीमा सरकार निर्माणको एजेन्डा लिएर आएका सांसदसँग उनी खासै खुलेर बोल्न सक्ने अवस्थामा थिएनन् ।
‘मैले बालकृष्ण दाइका बारेमा केही कुरा बुझ्न खोज्दै थिएँ, जिज्ञासा राख्नुअघि नै सभापतिज्यूले आज मुढ खराब छ भन्नुभयो । हाम्रो विषयमा समेत राम्रो कुराकानी हुन पाएन,’ सहभागी एक सांसदले भने, ‘खाँण दा समातिएको घटनाले उहाँ निकै तनावमा देखिनुभएको थियो ।’
खाँण पक्राउ परेलगत्तै देउवाले अपराह्न पार्टी पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीचमै विवाद भएको थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानलाई सघाउन पनि निलम्बन गर्नुपर्ने बताएका थिए । तर, सहमहामन्त्री महेन्द्र यादवसहित केही नेताले भने उनको बचाउ गर्दै निलम्बन गर्नु नपर्ने बताए ।
कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने निलम्बनको विषय बैठकमा नउठेको दाबी गरे । पदाधिकारी बैठक पूर्वनिर्धारित रहेकाले खाँणको पक्राउ र बैठक संयोग मात्रै भएको उनको तर्क थियो । ‘यो प्रकरणमा उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो, आफैं अनुसन्धानमा सहयोग पुर्याउँछु भन्नुभएको छ,’ महतले भने, ‘पहिले अनुसन्धान होस्, त्यसपछि उहाँ दोषी ठहर भएको अवस्थामा हामीले पार्टीमा राखिराख्नु नै पर्दैन ।’
भुटानी शरणार्थी प्रकरणमा गिरोहका सदस्यले आरजुलाई साढे २ करोड र खाँणकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अप्रमाणित अडियो बाहिरिएपछि यी दुई परिवारबीच दरार आउनुमा आर्थिक लेनदेन नै मुख्य कारण रहेको कतिपय नेताहरूको बुझाइ छ । ‘पछिल्लो पटक आरजु र मञ्जुबीचको सम्बन्ध राम्रो थिएन, सम्बन्ध बिग्रनुमा आर्थिक लेनदेन रहेको बुझाइ थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भनिन्, ‘अडियो सार्वजनिक भएपछि यही प्रकरणमा भएको लेनदेन हो कि भन्ने आशंका बढेको छ ।’ कान्तिपुर दैनिकबाट
अर्थ सन्जाल