


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमा परेको दबाब कम हुन थालेको बताएका छन् । राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले शोधनान्तर स्थिति र विदेशी विनिमय साञ्चितिमा पछिल्ला महिनामा आएको निरन्तर सुधारका कारण बैकिङ प्रणालीको तरलता स्थितिमा पनि सुधार आएसँगै ब्याजदरमा परेको दबाब कम हुन थालेको बताएका हुन् ।
उनले तरलता व्यवस्थापनलाई सुदृढ गर्दै ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेपश्चात् अन्तरबैंकदर ८.५ प्रतिशतबाट घटेर सात प्रतिशतमा आएको बताए । अन्तरबैंकदर घटेसँगै बैंक तथा वित्तीय संस्थाले पनि निक्षेप र कर्जाको ब्याजदर घटाउन थालेको उनले बताए ।
आर्थिक गतिविधिमा आएको केही शिथिलताले गर्दा बैकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाव परेको उनले प्रष्ट्याए ।
पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त रहको र जोखिम नरहेको उनले बताए । बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनले बताए ।
नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

अर्थ सन्जाल