निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’

काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर राखिएको पाइएको छ ।

महत्वपूर्ण उपकरणहरु किनेर त्यसै प्रयोगविहीन बनाएर राख्दा अस्पतालको सेवासुविधामा समेत ह्रास आएको छ भने कर्मचारी तथा सर्वसाधारण नागरिक सुलभ मूल्यमा विभिन्न स्वास्थ्य परीक्षण गर्न पाउने सुविधाबाट वञ्चित हुँदै आएका छन् । अहिले कतिपय महत्वपूर्ण परीक्षण अस्पताल बाहिर गर्नुपर्ने बाध्यताका कारण कर्मचारीहरु तथा सर्वसाधारण महँगो शुल्क तिर्न विवश छन् ।

यस्तो विकृति हुँदा पनि निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका मुख्य सचिव वैरागीले अस्पतालको विकृतिविरुद्ध छानबिन समिति बनाउन सक्नुभएको छैन । उहाँले अस्पतालको उक्त समस्यालाई गम्भीरतापूर्वक नलिएको आम कर्मचारीको गुनासो छ ।

निजामती कर्मचारी अस्पताल विकास समितिमा अर्थ सचिव तोयम राय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली तथा स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल सदस्य हुनुहुन्छ । उहाँहरुले पनि अस्पतालमा देखिएको विकृति रोक्न कुनै पहल नगर्नुलाई शंकाका रुपमा हेरिएको छ ।

महालेखा परीक्षकको ६०आंै वार्षिक प्रतिवेदनमा निजामती अस्पतालले १० करोड रुपियाँभन्दा बढीका उपकरणहरु किनेर प्रयोगविहीन अवस्थामा राखेको भन्दै प्रश्न उठाउँदा पनि समितिका उच्च पदाधिकारीहरुले अस्पतालमाथि छानबिन गर्न कुनै पहल नगरेका हुन् ।

महालेखाले अस्पतालले आवश्यकताको पहिचान नै नगरी मेसिन खरिद गरेको जनाएको छ । मेसिन खरिद गरी त्यसको प्रयोग नगर्दा सेवाग्राही कर्मचारी तथा सर्वसाधारणले बाहिर गएर महंगोमा परीक्षण गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यस्तो परिस्थिति आउन नदिन महालेखाले अस्पताललाई सचेत गराएको छ । महालेखाका अनुसार अस्पतालले गत २०७८ साल माघ २७ गते ६ करोड ४२ लाख ९७ हजार रुपियाँमा खरिद गरेको स्पाइनल इन्डोस्कोपी सिस्टमयुक्त मेसिन उपकरण प्रयोगविहीन अवस्थामा राखेको छ । नेपाल समाचारपत्र दैनिकबाट

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *