ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

ईङवा हाइड्रोपावर लिमिटेडले आज (बैशाख १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो। सोमध्ये आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा बैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख २७ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *