नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ५२.६३ प्रतिशत बढेको छ । यो अवधिसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको यस्तो ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ रहेको थियो ।
कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। यो अवधिमा बैंकले ७ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.५४ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ।







