एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकले ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा यस्तो आम्दानी ३ अर्ब ५० करोड ५६ लाख रुपैयाँमा सीमित थियो ।
कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत बढेर ६ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६२.५९ प्रतिशत बढेर ३ अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ।







