वैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका नेपालीहरुको बीमा बापतको रकम ठगीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो ।
विदेशी कम्पनीबाट बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बिमा बापतको रकमसमेत दिलाइने भन्दै मृतकका आफन्तहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। उनीहरुले विदेशमा मृत्यु भएका व्यक्तिका ३५ बढी परिवारलाई ठगेको खुलेको छ।
पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् ।
उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले बीमाबापत पाउने रकम मृतकका आफन्तहरुलाई दिलाउँछौँ भन्दै ठगी गरेको खुलेको छ । मृतकका आफन्तलाई केही रकम मात्रै दिएर अधिकांश आफैंले राखेको पनि पाइएको छ।






