नेपाल उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त,कसले मार्ला बाजी ?

काठमाडौं । उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभामा त्रिपक्षीय भिडन्त हुने भएको छ । चैत २८ र २९ गते हुने महासंघको ५७औं साधारण सभामा तीनवटा समूह निर्वाचनमा उत्रिएकाले त्रिपक्षीय भिडन्त हुन लागेको हो ।

उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष्र तीनवटा विषयगत उपाध्यक्षसहित करिब ७० पदमा निर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघ मुख्यतः निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था भए पनि यसपटकको निर्वाचनमा राजनीतिक रङ मिसिएको उद्योगी व्यवसायीहरू बताउछन् । ‘उद्योगी व्यवसायीहरू कुनै पार्टी वा संगठनको खुलेर समर्थन त गर्दैनन् तर यसपटकको महासंघको निर्वाचनमा सत्ता राजनीतिकको प्रभाव देखिएको छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई प्रतिपक्षी दल नेकपा एमालेको सदाशयता रहेको देखिन्छ भने रामचन्द्र संघईलाई सत्ताको मुख्यघटक नेपाली कांग्रेस त्यो पनि संस्थापन पक्षको ‘ग्रिन सिग्नल’ रहेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्रत्यासी अञ्जन श्रेष्ठलाई नेपाली कांग्रेसको संस्थापन इतरपक्षको सहानुभूति रहेको स्रोतको दाबी छ । महासंघका उम्मेदवारलाई राजनीतिक दलहरूको रङ मिसाउन उनीहरूको पारिवारिक पृष्ठभूमि र उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न लागेका व्यक्तिको गतिविधिले पनि बल पुर्याएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरासमेत रहेका हुदा उमेशलाल श्रेष्ठलाई प्रतिपक्ष दल एमालेको सदायता हुनु स्वभाविक देखिन्छ । साथै, राजनीतिक रूपमा एमालेमा आबद्ध व्यावसायिक नेताहरूले श्रेष्ठको खुलेरै समर्थन गरिरहेका छन् ।

उता नेपाली कांग्रेसको स्थापन पक्षको ‘ग्रिन सिग्नल’ पाएको भनिएका रामचन्द्र संघाईको उम्मेदवारी घोषणा सभामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका व्यक्तिहरूसमेत सहभागी थिए । उक्त सहभागितासहित केही जिल्लाका प्रतिनिधिले खुलेरै देउवा समूहको सन्देश प्राप्त भएकोे कार्यक्रममा सार्वजनिक गरिरहेका थिए ।

आफ्नो उम्मेदवारीलाई व्यापक प्रचार गर्दै आए पनि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरिसकेका छैनन् । तर, मंगलबार बिहान ११ बजेसम्म आफ्नो टिमले उम्मेदवारी दर्ता गर्ने श्रेष्ठले बताएका छन् । केही प्राविधिक कारणले प्यानल घोषणा गर्न ढिलाइ भए पनि उम्मेदवारी दर्ता भने समयमै हुने र बुधबार आफ्नो टिमलाई सार्वजनिक गर्ने श्रेष्ठको भनाइ छ ।

यसअघि संघाईले आइतबार र उमेशलाल श्रेष्ठले सोमबार प्यानल घोषणा गरेका थिए । अञ्जन श्रेष्ठको समूहबाट एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवारका रूपमा प्रचार गरिएकी ज्योत्सना श्रेष्ठले अन्तिम समयमा संघई समूहबाट उम्मेदवारीको घोषणा गरेपछि सो समूहको प्यानल घोषणामा ढिलाइ भएकोे स्रोतले जनाएको छ ।

महासंघमा जिल्ला तथा नगरबाट १ सय ७७ जना, वस्तुगतबाट १ सय २३, एसोसिएटबाट १ हजार १ सय ४७ र दुई राष्ट्रिय संस्थाका १३ मतदाता रहेका छन्।वरिष्ठ उपाध्यक्ष पदमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेको दोस्रोपटक निर्वाचन हुनेछ ।

त्यस्तै, संघाई समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरजकृष्ण श्रेष्ठ, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। अञ्जन श्रेष्ठको प्यानलबाट समूहबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधान र एसोसिएटतर्फ प्रज्वलजंग पाण्डेले उम्मेदवारी दिने तयारी छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *