निर्माणाधिन सीता हाइड्रोपावरले राजनीतिक पहुँच र पैसाका आधारमा स्थानीयमाथि ज्यादती गरेको घटना बाहिरिएको छ । सीता हाइड्रोपावरको चरम लापरबाहीका कारण छाडिएको नांगो तारको करेन्टमा परेर स्थानीयको मृत्यु हुँदा पनि हाइड्रोपावर सञ्चालकले उल्टै पीडितहरुमाथि नै झुटो मुद्दा लगाएको छ ।
गत फागुन १५ गते सीता हाइड्रोपावरको चरम लापरबाहीका कारण छाडिएको नांगो तारको करेन्टमा परी स्थानीय १४ वर्षिया किशोरी नोर्जी वाङ्मु लामाको मृत्यु भयो । घटनामा मृतक लामाको दाजु राजमान लाला र आमा सोसरानी तामाङलाई भने करेन्टको झट्काले फास्दा गम्भीर घाइते बन्न पुगे ।

तर राजनीतिक पहुँच र हाइड्रोपावर सञ्चालकले पीडित परिवारसहित २२ जना विरुद्ध मुद्दा हालेर फसाउन खोजेको घटना छताछुल्ल भएको छ ।
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ३ मा निर्माणाधिन सीता हाइड्रोपावरले स्थानीयमाथि ज्यादती मात्रै गरेको छैन उल्टै स्थानीयलाई फसाउन खोजेको आरोप स्थानीय पीडितहरुले लगाएका छन् ।
पीडितको घाऊमा मलम लगाउनु सट्टा उल्टै झुटो मुद्दा लगाएर पानीमाथि ओभानो बन्न खोजेको पीडितहरु बताउँछन् । हाइड्रोपावरले जानकारी नै नदिई नांगो तारको करेन्ट छोड्दा १४ वर्षीया बालिकाको मृत्यु भयो भने २ जना घाइते भए ।
घटना सार्वजनिक भइसक्दा पनि विद्युत प्राधिकरण लगायतका सरोकारवाला पक्षहरु मौन हुनुले हाइड्रो सञ्चालकलाईनै थप बल पुगेको भन्दै पीडितहरुले गुनासो समेत गरेका छन् ।

फागुन १४ गते ११ मेगावाट भोल्टेजको डाइरेक्ट लाइन प्रवाहित भएको तार अड्याइएको पोलदेखि तीन मिटर पर रहेकै अवस्थामा बारीमा काम मै गर्दा करेन्ट लागेर बालिकाको मृत्यु भयो ।
जुगल गाउँपालिकाको नेसिमखोलामा निर्माणाधीन ३५ मेगावट नेसिमखोला जलविद्युत आयोजना र उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको सिता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरु लापरबाही ढंगले छाड्दा उक्त घटना हुन पुगेको हो ।
जलविद्युत आयोजनाले विद्युतबाट सञ्चालन हुने मेसिनहरु सञ्चालब लगायत आयोजनाका लागि आवश्यक विद्युतका लागि प्रवाह गरेको तारहरु बाङ्गो छाड्नु र बाङ्गो तारबाट पटक पटक धुवाँ निस्कदा समेत मर्मत नगरी हेलचेक्र्याई गर्दा अझै यस्ता दुर्घटनाको जोखिम यथावत नै रहेको छ ।
किशोरी लालाको मत्यु हुनु अघि पनि आयोजनाकै लापरवाहीले मिति २०७४ फागुन ६ गते कार्यरत मजदुर सरोज थारुको पनि मत्यु भएको थियो । तत्पश्चात स्थानीयले २०७४ फागुन ६ गते नै निवेदन दिई आयोजना सुधार मरेर मात्र सञ्चालन गर्न आग्रह समेत गरेका थिए ।
तर आयोजनाले सूचना नै नदिई फागुन १४ गते पुन लाइ प्रशारणमा ल्याएको स्थानीय आरोप छ ।
दुर्घटनापछि स्थानीयले आक्रोशित भइ ढुंगामुडा गर्दा सामान्य क्षति पुगेको थियो । सामान्य क्षतिलाई करोडौँ क्षति भएको भन्दै पीडितसँग बिगो दाबीसहित मुद्दा दर्ता गरेर पीडितलाई अझै पीडित बनाउँदा पनि स्थानीय साराकर भने मौन बसेको पीडित परिवारको भनाइ छ ।
उक्त हाइड्रोपावरका सञ्चालक सिताराम तिमल्सिनाले शक्तिको आडमा उल्टै पिडितलाई न्याय दिलाउनुको सट्टा झुट्टा मुद्दा लागाउनु र सरोकारवाला निकायहरु विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण लगायत स्थानीय सरकार मौन सहनुले पीडकलाई नै बल पुगेको उनीहरु गुनासो छ । उनीहरुले २२ जनाविरुद्धको मुद्दा तुरुन्त फिर्ता दिएर पीडित परिवारलाई राहत दिन समेत माग गरेका छन् ।
फागुन १६ गते सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारीको रोहबरमा पीडित परिवार र स्थानीय बीच छलफल पनि भएको थियो । छलफल हुँदा प्रजिअले हाइड्रोपावरको प्रतिनिधि बोलाएर उचित माग सम्बोधन गर्ने आश्वासन समेत दिएका थिए। १७ गते जिल्ला प्रशासन कार्यालयमा हाइड्रोपावर कम्पनीका प्रतिनिधिका रुपमा रविन्द्र पौडेल भन्ने व्यक्ति आएपनि पौडेलले माग सुन्ने तर कुनै जिम्मेवार लिई निर्णय लिन नसक्ने गैरजिम्मेवारपूर्ण जवाफ दिएको पीडितहरु बताउँछन् ।
जाहेरी दर्ता भएको ४ दिनपछि जिल्ला प्रशासन कार्यालयमा हाइड्रोपावर कम्पनीका सञ्चालक सीताराम तिमिल्सीना र छोरा प्रल्हाद तिमल्सिना उपस्थित भए । छलफलमा सञ्चालक तिमिल्सीनाले हाइड्रोपावरको कुनै दोष नभएको गैरजिम्मेवार जवाफ दिए । सञ्चालक तिमल्सिनाले मृतकका परिवारलाई डेढ लाख रुपैयाँ क्षतिपूर्तिको रुपमा दिने र परिवारका एकजनालाई रोजगारी दिन्ने आश्वासन दिए ।

हाइड्रोपावरले कुनै दोष नभएको बताउने सञ्चालक तिमिल्सिना स्वयम्ले जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा क्षतिपूर्ति बताएपछि हाइड्रोपावर दोष रहेको पुष्टि हुने पीडित पक्षको दाबी छ ।
बारम्बार आश्वासन दिने तर कार्यान्यन भने केहि नहुने, त्यसमाथि पनि पीडितलाई नै दोषी देखाई झुट्टा मुद्दा लागेपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको पीडित पक्ष बताउँछन् ।
पीडित पक्षले सत्ताको आडमा सोझा सिधा गाउँलेमाथि डण्डा चलाउने क्रियाकलाप नरोकिए सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्।




