सन्दीपको मुद्दामाथि सुनुवाइ सकियो

क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च गएका थिए । आइतबार सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो । यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ ।

यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनलाई धरौटीमा रिहा गर्दा उच्च अदालतले विदेश जान नपाउने, काठमाडौं छाडेर बाहिर जाँदा अनुमति लिनुपर्ने लगायतका शर्तहरु राखेको थियो । धरौटी रकम बढी भएको, विदेश खेल्न जान पाउनुपर्ने लगायतका माग राख्दै सन्दीप सर्वोच्च पुगेका हुन् ।

गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए । आज सबै पक्षको बहस सकिएसँगै मुद्दाको आदेश सुनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *