आज बीमा समितिले ११ बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । राष्ट्रिय समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना गरेको हो ।
बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको जनाएको छ ।
बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।
जरीवाना गरिएका कम्पनीहरूमा नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनी रहेका छन् ।






