

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका क्रिकेटद्वय आदिल अन्सारी र मेहबुब आलमलाई काठमाडौं ल्याइँदै छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य अन्सारीलाई सप्तरीको राजविराज र पूर्वराष्ट्रिय क्रिकेटर आलमलाई मोरङको विराटनगरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ । काठमाडौंमा हालै सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सोम क्रममा पक्राउ परेका दुवैजना क्रिकेटरलाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने जनाइएको छ ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । यसैगरी पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतको दाबी छ ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए ।
पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।
लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।
अर्थ सन्जाल