नेपाल धितोपत्र बोर्ड सेबोनले आज (कात्तिक २४ गते)देखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’मा यस्तो व्यवस्था गरिएको हो। निर्देशिकामा दफा १३ गरिएको सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्थामा यो प्रावधान राखिएको हो।
विशेष व्यवस्थामा उल्लेख भएअनुसार यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ।
आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ। निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।
निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर भने मर्जर सम्झौता गरेको भोलिपल्टबाट नै रोक्का राख्नुपर्नेछ। त्यस्तै निर्देशिकाले बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ।
अब सूचीकृत कम्पनीहरु मर्जरमा जाँदा बढीमा १५ दिनमात्र सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था निर्देशिकामा गरिएको छ।







