विनोद चौधरीमाथि गालीको वर्षा, कर छलीदेखि सरकारी जग्गा हडपेकोसम्मको आरोप

काठमाडौं । राजनीति गर्ने रहर र लहर चलेसंगै उद्योगपति विनोद चौधरीले पनि नवलपरासी १ बाट प्रतिनिधि सभा सांसद पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारी घोषण गरेर दर्ता गरेसंगै उनीबिरुद्द सभ्य र असभ्य दुवै प्रकृतिका गालीको वर्षा सुरु भएको छ।

अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीमा परेका एक मात्र नेपाली अर्बपति हुन् विनोद चौधरी ।  २०६४ मा संविधानसभा सदस्यका रुपमा व्यवस्थापिका प्रवेश गरेका चौधरी ०७४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा प्रतिनिधिसभा सदस्य बनेका व्यक्ति हुन् ।

पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका चौधरीले यस पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचन लड्ने चाहना राखेका थिए । उनको सोही चाहनालाई मध्यनजर गर्दै पार्टीको क्षेत्रीय समितिले तीन वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरेको थियो । सोही अनुरुप नवलपरासी क्षेत्र नं. १ का साथै नवलपुर १ र २ बाट प्रत्यक्षतर्फ चौधरीको नाम सिफारिस भएको हो ।

यसअघि पटक पटक समानुपतिक कोटाबाट सांसद बनेका चौधरीले यस पटक भने जनतासँग जोडिनलाई प्रत्यक्षतर्फ नै चुनाव लड्ने तयारीमा गरेका भएपनि प्रत्यक्ष निर्वाचित सांसद् बन्ने चौधरीको चाहनालाई एका पक्षले भने साथ नदिएको देखिन्छ । पछिल्लो सयम युवा पुस्तामा निक्कै लोकप्रिय हुँदै आएको समाजिक संजाललाई आधार मान्ने हो भने उनले चुनाव जित्ने सम्भावना न्यून देखिन्छ । किन कि फेसबुकमा गाली गर्नेको लर्को छ ।

उनीमाथि फेसबुक प्रयोगकर्ताहरुले राज्यलाई कर छली गरेको, आपद्विपद्मा परेका दिनदुखीलाई सहयोग नगरेको, स्वास्थ्य संस्थामार्फत उपचारका नाममा आम सोझासाझा जनताको पैसा लटेको जस्ता टिप्पणी गरेका छन् । सामाजिक संजालमा आएका यस्ता सयौं टिक्काटिप्पणीमध्ये केही सभ्य र शिष्ट भाषा प्रयोग गरेर गरिएको छ भने केही प्रयोगकर्ताले भने तल्लो स्तरका शब्द प्रयोग गरेर चौधरीमाथिको आफ्नो आक्रोश पोखेका छन् ।

राज्यलाई कर नतिरेको भन्दै फेसबुकमा हरि क्षेत्री लेख्छन्, ‘बडेमानको साहु, तर तिर्नेमा छैन नाउ । होसियार नवलपुरवासी जनता ।’ राजेन्द्र आचार्यले लेखेका छन्, ‘पहिले इमान्दारीपूर्वक कर तिर्नु पर्छ । अनि अरुलाई पनि तिर्ने वातावरण बनाउनु पर्छ । त्यसपछि भाषण गर्नुपर्छ । अरु देशका उद्योगपति राष्ट्र निर्माणमा सघाउँछन् । हाम्रो देशकाले नेतासँग मिलेर राष्ट्र नै चुस्छन् ।

सुमित गुरुङले पनि चौधरीले कर छलीबाहेक देशका लागि केही नगरेको टिप्पणी गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘तपाईँले राष्ट्रको लागि अहिलेसम्म के गर्नुभयो कर छलीबाहेक ?’

यस्तै रामबहादुर थापाले पनि फेसबुकमा नेता चौधरीप्रति सकरात्मक टिप्पणी गरेका छैनन् । उनले चेतावनीपूर्ण शैलीमा लेखेका छन्, ‘पहिला आफ्नै क्षेत्रको विकास गर्नु । राज्यलाई तिर्नु पर्ने सम्पूर्ण कर तिर्नु । त्यसपछी अरुको निर्वाचन क्षेत्रमा दाबी गर्नु । अन्यथा टुरिष्ट उम्मेदवारको काम छैन ।’ अधिकांशले कर छलीको आरोप लगाउँदै चौधरीमाथि तिखो प्रहार गर्दै गर्दा चौधरी ग्रुपले आफूलाई उच्च करदाता दाबी गर्ने गर्छ ।

सामाजिक संजालमा चौधरीमाथि कर नतिरेको भन्दै नकरात्मक टिप्पणीको वर्षा भइराख्दा एक वर्ष अघि चौधरीसहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य बाहिरिएको थियो ।

अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता छ ।

बैंकिङ, स्वास्थ्य, शिक्षा, प्रविधि, भौतिक पूर्वधार जस्ता दर्जनौं क्षेत्रमा लगानी रहेको व्यापारिक समूहका अध्यक्ष चौधरीमाथि स्वास्थ्य र शिक्षा क्षेत्रबाट पनि जनता लुट्ने काम भएको भन्दै युवाहरु खनिएका छन् । देशका निमुखा र गरिबीको रेखामुनी रहेका जनताका लागि आफूले विगतमा पनि गरेको र आगामी दिन अझ धेरै गर्ने प्रतिवद्धता जनाएका चौधरीलाई चुनौती दिँदै मेघराज ओझाले लेखेका छन्, ‘पहिला नर्भिक अस्पतालमा गरिब जनताले पनि उपचार गर्न पाउने व्यवस्था मिलाउनुस् त । अनि पत्याउँछौं हामीले तपाईँका कुरा ।’

हस्पिटलले ऐलानी जग्गासमेत हडपेको भन्दै त्यो फिर्ता गरेर इमान्दारिता देखाउन मोतीचन्द्र राईले फेसबुकमार्फत आग्रह गरेका छन् । रामनाथ कुँवर लेख्छन्,सीजीका पुराना कवाड़ी सामान जम्मा गरेर आगो लगाउने,अनि आफ्नै बीमा कम्पनी यूनाइटेड इन्सुरेंसबाट क्षतिपूर्ति लिनेसम्मको निच काम गर्ने मान्छे हौ तिमि ,देश बनाउछु भनेर कसले पत्याउने रु यसैगरी अन्जीव कुमार नेपालले प्रश्न गरेका छन्, ‘तपाईँले खोलेका अस्पताल र स्कुल कहिले गरिबहरुको पहुँचमा पुग्छ ?’

चौरीलाई गरिबीको पक्षमा काम गर्न र मुलुकलाई समृद्ध बनाउन राजनीतिमा आउनै जरुरी नभएको सझुाव केहीले दिएका छन् भने कतिले चौधरीलाई नीतिगत भ्रष्टाचारका मतियार भनेका छन् । यसैगरी व्यापारीको मन जहिल्यै आफ्नो दुनो सोझ्याउने तर्फ केन्द्रित हुने भन्दै मुलुकको समृद्धिको निम्ति नहुने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *