ग्रिसमा गाडी दुर्घटना : मृतक नेपाली चारैजनाको सनाखत

ग्रिसमा चार जना नेपालीको मंसिर पहिलो साता भएको सवारी दुर्घटनामा परीे मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको नेपाली राजदूतावास भियनाले बताएको छ ।
मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

अब शवलाई नेपाल पठाउने प्रक्रिया सुरू भएको जानकारी आएको छ ।

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडेको हुँदा चालकले सन्तुलन गुमाएर दुर्घटना भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *