दशैँ नजिकिए पनि बजारमा छैन रौनक, व्यवसायी भन्छन्– व्यापार नै छैन

नेपालीहरुको महान चाड वडादशैँ नजिकिएको छ । दशैँ नजिकिए पनि बजारमा भने खासै चहलपहल देखिएको छैन । दशैँ सुरु हुन अब पाँच दिन मात्र बाँकी छ र पनि बजारको चहलपहलले दशैँको झल्को दिएको छैन । काठमाडौंको सबैभन्दा व्यस्त बजार असन र न्यूरोडमा दशैँको रौनकता देखिएको छैन ।

व्यापारीहरु कोही ग्राहक आउलान् कि भनेर बाटो पर्खिएर बसेका छन् । पहिलेपहिले जस्तो भीडभाड बजारमा छैन । ग्राहकहरु फाट्टफुट्ट मात्र देख्न सकिन्छ । पहिलेपहिले दशैँ आउनुभन्दा करिब १५÷१० दिन अगाडि नै चहलपहल सुरु हुने बजारमा अहिले न त्यति धेरै चहलपहल नै छ, न व्यापारीमा उत्साह नै ।

न्यूरोडका एक सुनचाँदी व्यवसायी आफ्नो दुखेसो पोख्दै भन्छन्, ‘यसपाली त बजारमा रौनक नै छैन । पहिलेपहिले दशैँ नजिकिएसँगै पाइला टेक्ने ठाउँ नै हुन्न थियो । यसपाली न रौनकता छ । न व्यापार नै गाहक कुर्दैमा दिन बित्छ ।’ अघिल्लो वर्षहरुमा राम्रै व्यापार भए पनि यस वर्ष व्यापार नभएको उनले सुनाए ।

न्यूरोडमै कपडा व्यवसाय गरिरहेका राजीव मानन्धरको पनि पीडा उस्तै छ । दशैँ नजिकिए पनि व्यापार नहुँदा उनी पनि चिन्तामा छन् । बजारमा त्यति धेरै चहलपहल नभएको उनले सुनाए । उनी भन्छन्, ‘खै यो दशैँ आयो भन्छन् । बजारमा रौनकता नै छैन । मान्छेहरु फाट्टफुट्ट आउँछन् । खासै व्यापार नै छैन ।’

असनमा कपडा व्यवसाय सञ्चालन गरिरहेकी सुनिता शर्मा पनि यो वर्ष व्यापार घटेको बताउँछिन् । ‘पहिलेपहिले दशैँ नजिकिएपछि सामान दिएर फुर्सद हुन्न थियो । यसपाली त हेरेर बस्नु परेको अवस्था छ । कोही आउँछन् कि भनेर बाटो हेरेर बस्नु परेको छ । चहलपहल सामान्य नै भए पनि व्यापार छैन । महंगी पनि असाध्यै बढेको छ । त्यो हुँदा पनि व्यापारमा असर पुगेको होकी ? अहिले त हेरेरै बस्नु परेको छ’, उनले भनिन् ।

पीडा उनीहरुको मात्र होइन, अधिकांश पसल सुनसान नै देखिन्छन् । बजारमा फाट्टफुट्ट मात्र चहलपहल छ । यो त असन न्यूरोडमा अन्य समयमै भइरहेको हुन्छ । तर दशैँको उत्साह बजारमा कत्ति पनि देखिएको छैन । व्यापारको सिजन नै दशैँ तिहार हो । अन्य समयको तुलनामा अहिले दोब्बर÷तेब्बर नै व्यापार हुने बेला हो ।

अर्थतन्त्र र महंगीको प्रभाव

देशको अर्थतन्त्र नै संकटउन्मुख भएको र महंगी पनि बढेको कारण बजारमा चहलपहल घटेको व्यापारीहरु औंल्याउँछन् । गत वर्षको तुलनमा अहिले बजारभाउ धेरै नै आकासिएको छ । अर्थतन्त्र सुस्त भएको अवस्था छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको पुगेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशतमा सीमित रहेको थियो ।

अहिले हरेक वस्तु तथा सेवाको मूल्यमा अचाक्ली वृद्धि भएको छ । जे सामान छोयो त्यही महंगो बनेको छ । उपभोक्तालाई अहिले आफ्नो छाक टार्न धौधौ परेको अवस्था छ । त्यसैले पनि बजारमा दशैँको रौनकता देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *