नेपाली समाजमा ‘बाहिर बोक्रो, भित्र खोक्रो’ भन्ने एउटा चर्चित उक्ति छ । देखावटी रुपमा जस्तो व्यवहार गरिए पनि भित्रैदेखि हामीमा दोस्रो व्यक्तिको सम्मान गर्ने संस्कार नहुनुले पनि यसलाई पुष्टि गर्दछ । जब कसैले आफ्नो खास कर्तव्य र वास्तविकतालाई भुलेर कपोल्कल्पित र देखावटीलाई नै आफ्नो धर्म ठान्छ, अनुशासन भन्दा बाहिर रहन्छ र कार्यसम्पादन गर्छ भने त्यहाँ कुनै सकारात्मक प्रतिफलको आशा रहन्न ।
अहिले देशको व्यवस्थापिका होस् वा कार्यपालिका, न्यायपालिका नै किन नहोस्, यी सबै आफू जस्ता छैनन् । मन्त्री, सांसद, नेता, वकिल, कर्मचारी कोही पनि आफू जस्ता छैनन् ।
यसबाट नेपाली पत्रकारिता जगत पनि टाढा रहन नसकेको प्रष्टै देखिन्छ । हिजो राज्यको चौथो अङ्ग भनेर गर्वले छाती चौडा गर्ने समाज अहिले यो ‘पत्रकार’ भन्ने शब्द सुन्नेबित्तिकै असुरक्षित महसुस गर्दै झस्किन्छ । अनि प्रश्न गर्छ– कुन पार्टीको ? चाहे त्यो ठूला भनिने मिडिया हुन् या झोलामा एउटा ल्यापटप हालेर कसैको समर्थन र विरोधका लागि मात्र खोलिएका अनलाइन पोर्टलहरु । अझ पत्रकारिताको आवरणमा राजनीतिक दलको भातृ संगठनका रुपमा खोलिएका संस्था र तीनका प्रतिनिधिले कहिले आफ्नो पत्रकारिताको वास्तविक धर्म निभाउलान् भन्ने त कल्पनासम्म गर्न सकिन्न । यसबाट त झन् स्वतन्त्र एवं निष्पक्ष पत्रकारिताको धज्जी उडेको छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर होस् वा अन्य साना दलसम्बद्ध संगठन जसले प्रेस स्वतन्त्रताको चर्का भाषण ठोक्छन् । तर निष्पक्ष रुपमा पत्रकारको हकहितमा सिन्को भाँच्दैनन् । पत्रकारको हकहितका लागि भन्दै खोलिएका अन्य संघसस्थाहरू पनि ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर’ भनेझैँको अबस्थामा छन् ।
सुन्दा तितो लाग्न सक्छ तर यो यथार्थलाई नकार्न सकिन्न । कार्यक्षेत्र एउटै भएपनि पार्टी फरक पर्यो भने त झन् उल्टै जघन्य अपराध गरेर फरार रहेको अपराधी फेला परेजस्तै गरी खनिन्छन् र विज्ञप्ति सार्वजनिक गर्दै चेतावनी दिनसम्म पछि पर्दैनन् । अनि आफ्नो कर्तव्यदेखि बिमुख राजनीति दलको भातृसंगठनका रुपमा रहेका पत्रकाररुपी झुण्डहरुबाट नेपाली समाजले निष्पक्षताको अपेक्षा कसरी गर्ने ? हिजोआज स्वतन्त्र पत्रकार खोज्दै हिँड्नु भनेको हिउँमा तातो खोज्दै हिँड्नु जस्तै भएको छ ।
‘म यो पार्टी र तँ त्यो पार्टी’ भन्ने यी नै झुण्डहरुको हालीमुहाली सारा मिडियामा छ । जसले आफ्नो वास्तविक र्धम भुलेर राजनीतिक स्वार्थ तथा आर्थिक लाभका लागि कलम चलाउँछन् । जसबाट फाइदा मिल्छ उसलाई बचाएर आफूसँग डिल नगर्ने व्यक्ति, संघसंस्था वा जुनसुकै निकाय होस, उसलाई सिध्याउन पनि पछि पर्दैनन् ।
केही समय अघि विचार मिल्ने एउटै संस्थाका सदस्य भन्नेहरुको जमघट हुन्छ । कुराकानी सुरु हुन्छ उही स्वार्थ र लाभ–हानीको अर्थात कसले कति विज्ञापन दियो÷दिएन ।
त्यसक्रममा एउटा अघि सर्दै भन्छ– कुरा गरिसकेको छु, फलानोले राम्रै रेस्पोन्स पनि गरेको छ, दिन्छ होला । थप जोशका साथ भन्छ– दिएन भने त सडकमा ल्याउने कन्टेन्ट छ मसँग । त्यसलाई कसरी ठेगान लगाउनु पर्छ हामीलाई थाहा छ नि ! हामीले जे भनेपछि पब्लिकले पत्याइहाल्छन् । कम डर छ त्यसलाई । मुस्कुराउदै अर्कोले कुरा थप्छ– मलाई त दिएको छ है लेख्न मिल्दैन । तिमी लेख ।
अस्ति भर्खर मात्रै आर्थिक बिटमा कलम चलाउने पत्रकार एउटा बिजनेस हाउसमा पुगेर अर्को संस्थाले आफू आवद्ध संस्थालाई सहयोग गरेको कुरा सुनाउँछ । यसरी सहयोग गरेपछि उसको कुनै पनि नराम्रो समाचार आफू र आफ्ना सदस्यले नलेख्ने आश्वासन दिँदै भन्छ– तपाईँहरुले पनि सहयोग गर्नुपर्यो । कुराकानीका क्रममा उसले एउटा प्रतिष्ठित बैंकको उदाहरण दिदै भन्छ– हेर्नुस् त फलानोले कति गलत गरिरहेको छ, नियामक निकायको समेत धज्जी उडाएर बसेको छ ।
उसलाई जवाफ आउँछ– लेख्नुस न, तपाईँ त पत्रकार हो नि । त्यो पनि अर्थबिटमैं कलम चलाउने । वार्गिनिङ गर्न पुगेका ती व्यक्ति निःशंकोच ठूलै उपलब्धि हासिल गरेझैँ चर्को स्वरमा भन्छन्– उसले त हाम्रो संस्थालाई सहयोग गरेको छ, विज्ञापन पनि दिएको । हामीले त लेख्न मिल्दैन । उनी अझै आफूले पदक पाउन लायक काम गरेझैँ गर्वका साथ भन्छन्– तपाईँहरु पनि हाम्रो संस्थालाई स्पोन्सर गर्नुस्, हामी थुप्रै मिडियाका साथी आबद्ध छौं । नेगेटिभ न्यूज आउन्न ।
केहि दिन अघि एउटा आर्थिक पत्रकारले त वित्तीय संस्थालाई आफै नियामक निकाय झैँ गरेर धम्कीपूर्ण शैलीमा कारबाही गर्ने चेतावनी दिनसम्म भ्याएछन् ।
विज्ञापन दाताहरु सोच पनि उस्तै छ । सेमिनार, गोष्टी, तालिमका बहानामा भोज र पार्टी आयोजना गरी पत्रकार बोलाएर टन्न खुवाएपछि उद्देश्य पूरा भएको सम्झन्छन् । ठूलो संख्यामा कहिले नगरकोट त कहिले चितवन, कहिले याक एण्ड यति र कहिले एभरेस्ट जस्ता पाँचतारे होटलमा बोलाएर टन्न खुवाएपछि विरुद्धमा त ज्यान जाला लेखिन्न भन्ने सोच हाबी छ । पत्रकारहरुले पनि नूनको सोझो त गर्न परिहाल्यो । आफूहरुका लागि पार्टी आयोजना गर्ने र विज्ञापन दिनेहरुको विरुद्धमा लेख्ने त कल्पना गर्यो भने पनि पाप लाग्छ झैँ गर्छन् । चाहे त्यो गलत नै किन नहोस् ।
जातिसुकै ठूलो अपराध गरेपनि निर्दोष सावित गर्न गोजीमा बोकेकाहरुलाई हुकुमको एक्काका रुपमा अघि सार्ने गरिन्छ । कालोलाई सेतो बनाउने लाइसेन्स पाएका र नुन खाएकाहरु पनि आँखा चिम्लेर त्यसको ढाकछोप गरिहाल्छन् ।
गजबको कुरा त के छ भने, कसैले हिम्मत गरेर सत्य बोल्ने प्रयास गर्यो भने पनि अनेक माध्यमबाट अरिंगाल खनिए झै सत्यलाई झुट सावित गर्न न्वारान देखिको बल प्रयोग गर्छन् । अझ भनौं, सत्य सावित गर्नुभन्दा पनि झुटको पक्षमा उनिहरुकै दरिलो उपस्थित देखिन्छ ।
ठूला भनिएका मिडियाहरुको त बार्गेनिङ शैली नै छुट्टै । फिल्डमै पुगेर अन्तर्वार्ता तयार गरिन्छ । प्रोमो बनाएर बाँकी प्रतीक्षा गर्न भन्दै पीडक भनिएको पक्षसम्म पुर्याइन्छ । अनि सुरु हुन्छ बार्गेनिङ । न्याय दिने भन्दै सुरु गरिएको यात्रा पाउने र गुमाउनेबीचको बोलकबोलमा पुगेर टुंगिन्छ । पीडितको न्याय पाउने झिनो आशा पनि पीडक र मिडियाबीच कुरा मिलेपछि सेलाउँछ । यसर्थ, दूधको साक्षी बिरालो भनेझैँ नुनको सोझो गर्ने गोजीका पात्रहरुबाट न्यायको आशा गर्न सकिन्न ।
समाजमा फेरि अर्को कुनै घटना घट्छ, एउटा पीडित र अर्को पीडक । मध्यस्थताको भूमिकामा न्यायको ढोल बजाउँदै उही अघि सर्छ । एक दुई एपिसोडमा समस्याको उजागर पनि हुन्छ । र सम्बन्धित पीडक भनिएकोसम्म पुर्याईन्छ । अनि फेरि सुरु हुन्छ त्यस्तै खेल । अन्य कुराहरु यथावत राखेर पावर,पैसा र पहुँचका आधारमा पीडकलाई उन्मुक्ति दिने काम हुन्छ । न्यायको आशा निरासामा परिणत हुन्छ । पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने भन्दै उजागर गरिएको बिषय गर्भ मै रहन्छ, पात्र एकाएक गुमनाम हुन्छ । पात्रले अब फेरि अर्को कुनै त्यस्तै पीडितको खोजी गर्न थाल्छ, आफू र आफ्नो निहित स्वार्थको पूर्णविराम नलागेसम्म ।
यी अनि यस्तै पात्र र प्रवृत्तिका उपज हुन् अर्थ मन्त्रालयका सीसीटिभी फुटेज खाने मुसो र यम अधिकारी प्रकरण । जुन पावर र पैसाको आडमा कहिले नजन्मिने गरी गर्भमै तुहिएको छ ।







