पहुँच र पैसाको आडमा सर्वोत्तम स्टीलको रजाइँ, उद्योगमा कार्यरत मजदुर मृत्युको घटना सामसुमदेखि अवैध कारोबारसम्म

काठमाडौं । पर्साको वीरगंजस्थित सर्वोत्तम स्टीलको उद्योगमा विस्फोट भई पाँच जनाको ज्यान गएको एक वर्ष पूरा भइसकेको छ । २०७८ भदौ १० गते बिहीवार वीरगञ्ज महानगरपालिका २२ मनियारीस्थित सर्वोत्तम स्टील उद्योगको भट्टीमा विस्फोट हुँदा एक दर्जनभन्दा बढी मजदुर घाइते भएका थिए । घाइते हुनेमा अधिकांश भारतीय नागरिक थिए । जसमध्ये उपचारका क्रममा भारत बिहारको पटनामा पाँच जनाको मृत्यु भएको एक वर्षभन्दा बढी भइसक्यो ।

राजेश अग्रवाल सञ्चालक रहेका उद्योगको फलाम पगाल्ने भट्टीमा पुराना कवाडि पगाल्दै गर्दा विस्फोट भइ घाइते भएकाहरुलाई काठमाडौं नल्याई थप उपचारका लागि भारत पुर्‍याइएको थियो । वीरगन्जको अस्पतालबाट एक घण्टाभित्र हेलिकोप्टरमा काठमाडौं ल्याउने विकल्प छोडेर उद्योग प्रशासनले ६÷७ घण्टाको बाटो हिँडाएर एम्बुलेन्समा गम्भीर घाइतेहरुलााई पटना पुर्‍याइएको थियो ।

त्यहाँ उपचारकै क्रममा मृत्यु हुनेमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनऊका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामकुमार यादव रहेका हुन् । उपचारकै क्रममा भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको थियो ।

यस घटनाका घाइतेहरुका अनुसार कवाडी फलाम गलाउने उद्योगको भट्टीमा पुराना ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको थियो । घटना नियोजित रुपमा घटाइएको भनेर चौतर्फी प्रश्न उठाइए पनि अहिलेसम्म यो घटनामा गहिरो अध्ययन भएकै छैन । घटना भवितव्य भन्दै अहिले प्रहरीले टाउको झिकीसकेको छ भने ज्यान गुमाउने मजदुरका परिवारलाई उद्योगले केहि रकम दिएर घटना सामसुम पारिएको छ ।

‘देशको बिभिन्न ठाउँबाट संकलन गरी ल्याइएको फलामे कबाडीहरूलाई गलाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर भट्टी भित्र हाल्ने बितिकै विष्फोट भएको कारण घाइते भएका घटनामा परेकाहरुको भनाइले समेत पुष्टि गरेको छ ।’

उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले त्यसको जानकारी ३ हप्तापछि मात्र दिएको थियो । ५० लिटर घरेलु मदिरा नष्ट वा आफ्नै रुपैयाँ बोकर हिँड्ने मानिसले स्रोत देखाउन सकेन भन्दै तस्बिर र घटना विवरण संचार माध्यमहरुमा विज्ञप्ति बनाएर पठाउने गरेको प्रहरी प्रशासन पाँच जनाको ज्यान गएको घटनामा मौन बस्नु, घटनालाई भवितव्य भन्दै थप अनुसन्धान अघि नबढाउनुको पछाडि केही न केही प्रलोभन छन् भन्ने कुरा प्रष्टै छ । आर्थिक चलखेल र राजनीतिक पहुँचकै कारण नै घटनाको अनुसान्धान थप अघि बढ्न नसकेको बताइन्छ ।

घटना लगत्तैको घटनास्थल मुचुल्कामा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा लापरबाही गरेको भेटिएको भनी जिल्ला प्रहरी कार्यालय पर्साले बताएको थियो । तर पछि भने भवितव्य ज्यान सम्बन्धी मुद्दा बनाएर अनुसन्धानलाई प्रहरीले टुंग्याउनुले घटनालाई शंकास्पद बनाएको थियो । तर सर्वोत्तम स्टीलको लापरबाहीलाई प्रशासन र प्रहरी प्रशासनले जोगाउँदा घटना थप अनुसान्धान अघि बढ्ने सकेन । अन्ततः यो घटना नै सामसुम पारिएको छ ।

फलामको कच्चा डन्डि निर्माण

गत वर्ष उद्योगमा विस्फोटको घटनासँगै सर्वोत्तम स्टीलको अन्य पोल पनि खुलेको थियो । यस उद्योगले कबाडबाट फलामको कच्चा डन्डि निर्माण गरि बजारमा सप्लाई गरेको घटना त्यसताका खुलेको थियो ।

जनतालाई उच्च गुणस्तरको छड उपलब्ध गराउने प्रतिबद्धताका साथ खोलिएको सर्वोत्तम स्टीलले बजारबाट कबाडी फलाम सामग्री संकलन गरेर ल्याइएको स्क्रेपलाई गलाएर छड निर्माण गरेको त्यसबखत प्रमाणित भएको थियो । विष्फोटको घटना पछि उद्योगको यो कर्तुतबारे खुलासा भएको हो ।

देशको बिभिन्न ठाउँबाट संकलन गरी ल्याइएको फलामे कबाडीहरूलाई गलाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर भट्टी भित्र हाल्ने बितिकै विष्फोट भएको कारण घाइते भएका घटनामा परेकाहरुको भनाइले समेत पुष्टि गरेको छ । त्यसबेलाको घटना लगतै सर्वोत्तम स्टील कम्पनीमा पुगेका पत्रकारहरुलाई भित्र प्रवेशबाट रोक लगाउने कार्यले कम्पनी भित्र चलिरहेको अवैध र उपभोक्ता ठग्ने कार्यबारे विभिन्न शंकाहरु उत्पन्न भएको छ ।

अवैध कारोबारमा संलग्न

सर्वोत्तम स्टील अवैध कारोबारमा समेत संलग्न हुने गरेको पाइएको छ । कम्पनीका सञ्चालकहरु राजेश अग्रवाल, विष्णुप्रसाद न्यौपाने र एक जना भारतीय लगानीकर्ताको संलग्नतामा कम्पनीले अवैध कारोबार गर्ने गरेको पाइएको हो ।

भारतीय लगानीकर्ताले अवैध रुपमा सामानहरु ल्याउने र सर्वोत्तम स्टीलको गोदाममा राख्ने गरेको प्रहरीकै सूचनाले पुष्टि गरेको हो । कम्पनीले भारतबाट भन्सार राजश्व छली ठूलो मात्रामा सामान भित्र्याउने गरेको गत वर्ष प्रहरीले पत्ता लगाएको थियो । वीरगंज नाकाबाट भन्सार राजस्व छली गरि अवैध रुपमा नेपाल भित्राइएको दुई करोड ३० लाख मूल्य बराबरको सामान प्रहरीले ट्रक सहित बरामद गरेको थियो ।

चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको थियो । वीरगंजबाट भित्रिएका चार वटा ट्रक चेकजाँच गर्दा सर्वोत्तम स्टीलले ल्याएको ८६ पोका भन्सार छलिको कपडा बरामद गरिएको थियो ।

फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीको टोलीले सो सामान बरामद गरेको थियो । त्यसबेला प्रहरीले ट्रकबाट एक करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले ना. ६ख ११३, ना. ६ख ११६६, ना. ६ख ५०६१ र ना. ७ख ९२३४ नम्बरको ट्रक र सामान अनुसन्धानका लागि वीरगंज भन्सार पठाइएको थियो । तर ‘सेटिङ’मा भन्सारबाट ट्रक छुटाइएको थियो ।

सञ्चालक अग्रवाल नै घोटलामा संलग्न, छैन कारबाही  

मेरो देश मेरो जगदम्बा, राष्ट्र निर्माणमा समर्पित, देशको मेरूदण्ड’ जस्ता आकर्षक विज्ञापन गरेर कोरोना महामारीमा समेत राष्ट्र र जनता ठग्ने सौरभ ग्रुप लगायतको गिरोहद्धारा सञ्चालनमा ल्याइएको सर्वोत्तम स्टील लिमिटेडका संचालक राजेश अग्रवाल अन्य धेरै प्रकरणमा समेत मुछिएका छन् । केपी ओली प्रधानमन्त्री रहेको बखत ओवर इन्भ्वासिगं, नक्कली इन्भ्वासिगं र मनी लान्ड्रिंग जस्ता आर्थिक चलखेल गरेर एक सय बीस करोड घोटाला गरेको खबरहरू सार्वजनिक भएता पनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *