आफूले पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयक फेरि जस्ताको त्यस्तै प्रमाणीकरणका लागि आउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबारे विभिन्न विज्ञ, राजनीतिक दल तथा सरोकारवालासँग निरन्तरजसो छलफल गर्दै आएकी छन् । त्यसक्रममा उनले आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग २ घण्टा छलफल गरेकी छन् ।
उक्त छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको उनले बताए । राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेकी छन् । जसअनुसार सोमबार मात्रै राष्ट्रपतिले कांग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।
यसअघि मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सितलनिवास पुगेर राष्ट्रपतिलाई भेटेको थियो । उसले जसरी पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।
त्यसअघि राष्ट्रपतिले संविधान तथा कानुनविद्हसँग पनि छलफल गरिसकेका छन् । राष्ट्रपतिले गत साउन २९ गते विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् । त्यसपछि प्रततिनिधिसभाले जस्ताको त्यस्तै पारत गरेको उक्त विधेयक अहिले राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा विचाराधीन छ ।
अब यो विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ । समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको २४ घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ ।
त्यसपछि प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ । त्यसरी पठाएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नैपर्ने संवैधानिक व्यवस्था छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने पक्षमा रहेकी राष्ट्रपति अहिले विभिन्न विकल्पको खोजीमा जुटेकी छन् ।







