कहिलेबाट सञ्चालनमा आउँछ चाडपर्व लक्षित सहुलियत पसल ?

नेपालीहरुको महान पर्व बडादशैँ नजिकिसकेको छ । अबको करिब एक महिनामा दशैँले प्रत्येक नेपालीको घर आगन टेक्नेछ । दशैँ भन्ने बित्तिक्कै मिठो खाने, राम्रो लगाउने र सबै परिवार बसेर रमाइलो गर्ने चाडको रुपमा चिनिन्छ । वर्ष दिनमा आउने यो चाडको विशेष महत्व छ । बालबालिका, वयस्कदेखि वृद्धवृद्धासम्मलाई यो चाडले उत्तिकै छुने गर्छ ।

सरकारले प्रत्येक वर्ष चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमलाई सरकारले सदा जस्तै यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

बजेट बढ्यो

हरेक वर्षजस्तै यस वर्ष पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसलका लागि रकम विनियोजन गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनका लागि २ करोड ३२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले बताइन् ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा बजेटको आकार बढेको छ । अघिल्लो वर्ष सहुलियत पसल सञ्चालनका लागि एक करोड ५७ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । मन्त्रालयले बिनियोजन गरेको उक्त रकमबाट नै सहुलियत पसल सञ्चालन गर्ने सरकारी संस्थानहरुलाई अनुदान दिनेछ ।
छिट्टै सञ्चालनमा आउने

हाल नेपाल खाद्य तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गर्दै आएका छन् ।
चाडपर्व लक्षित सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिँदै आएको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी र खसी, बोका उपलब्ध गराउनेछ भने दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ सहुलियत दरमा उपलब्ध गराउनेछ ।

सहुलियत पसल सञ्चालनको बारेमा छलफल चलिरहेको र सम्भवत: छिट्टै सञ्चालनमा आउने मन्त्रालयकी सह–प्रवक्ता केसीले बताइन् ।

यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालनको विषयमा आन्तरिक छलफल गरिरहेको विभागकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । मन्त्रालयले सहुलियत पसल सञ्चालनका लागि निर्देशन बाँकी रहेको उनले जानकारी दिइन् । अघिल्लो वर्षहरुमा झैँ कम्पनीको शाखा कार्यालयहरु रहेको सबै ठाउँबाट सहुलियत पसल सञ्चालन गरिने उनले बताइन् । आवश्यकबमोजिम माग भएको ठाउँबाट समेत सहुलियत पसल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।

उनी भन्छिन्, ‘हामीले आफ्नो नेटवर्क भएको सबै ठाउँबाट सहुलियत पसल सञ्चालन गर्दै आइरहेका छौँ । यस वर्ष पनि ती सबै ठाउँबाट सहुलियत पसल सञ्चालन गरिन्छ । काठमाडौं उपत्यकामा विगतका वर्षहरुमा थप बिक्री केन्द्रहरूबाट पनि सञ्चालन भइरहेको छ । यो वर्ष पनि त्यही अनुसार नै हुन्छ । कुनै ठाउँमा थप माग भयो भने हामी त्यसलाई पनि सम्बोधन गर्छौं ।’ कहिलेदेखि सञ्चालन गरिन्छ भन्ने विषयमा चाहीँ मन्त्रालयबाट निर्देशन आइनसकेको उनले बताइन् ।
मन्त्रालयबाट कुन सामानमा कति छुट दिने र कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्देशन दिएसँगै सहुलियत पसल सञ्चालनमा ल्याइने उनले जानकारी दिइन् ।

३ हजार खसीबोका र च्यांग्रा ल्याइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल यस वर्ष ३ हजार हाराहारीमा खसीबोका र च्यांग्रा ल्याउने तयारी गर्ने न्यौपानेले बताइन्। कम्पनीले यो वर्ष २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको हो । तर बजारको मागअनुसार यो संख्या घटबढ हुन सक्छ ।

विभागले गत वर्ष पनि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भनिएको थियो । तर, मुस्ताङमा नै च्याङ्ग्राको मूल्य उच्च र अभाव देखिएपछि कम्पनीले च्याङ्ग्रा ल्याउन सकेको थिएन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *