लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना सांसदलाई मन्त्री बनाइएको छ।

नयाँ नियुक्ति अनुसार एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिएका छन्।

यसअघि सो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए। उनलाई हटाएर अहिरलाई नयाँ मन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ २५ गते सोमबार हुने तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *