श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । औषधिदेखि इन्धनसम्मको संकट भोगेको श्रीलंकाको सरकारले बुधबार संसदमार्फत टाट पल्टिएको जानकारी गराएको हो ।
प्रधानमन्त्री रनिल विक्रेमासिंघेले विदेशी विनिमयमा भुक्तानी गर्नुपर्ने कर्जाको कारण थलिएको अर्थतन्त्र ढलेको बताएका छन् । संसदको रोष्ट्रममा उभिएर उनले महिनाैदेखि थलिएको अर्थतन्त्र अब भने ढलेको बताए ।
उनले देशका लागि अब थप डरलाग्दो अवस्था आएको स्वीकारे । ‘हामी अब पहिलेको भन्दा थप गम्भीर अवस्थाको सामना गरिरहेका छौँ । इन्धन, ग्यास, विद्युत र खाद्यान्नको अभावको अवस्था निक्कै नै ठूलो छ,´ उनले भने ।
देशको अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका विक्रेमासिंघेले गुमेको पर्यटन आय र कोभिड महामारीको प्रभावका कारण अन्य समस्याका साथसाथै चर्को मूल्यवृद्धिको सामना गरेको बताए । उनले संसदबाट देशको अर्थव्यवस्था ‘कोल्याप्स’ भएको घोषणा गरेका छन् ।







