लक्ष्मीपूजामा विद्युत् खपत १ हजार ७ सय मेगावाट पुग्ने प्रक्षेपण

काठमाडौं । लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग यस वर्ष १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले तिहारमा विद्युत् खपत बढ्ने आकलन गर्दै उक्त परिमाणमा माग पुग्ने प्रक्षेपण गरेको हो।

पछिल्ला वर्षहरूमा लक्ष्मीपूजाको साँझ विद्युत्को माग निरन्तर बढ्दै गएको छ। २०७९ सालमा १ हजार ३०५ मेगावाट रहेको उच्चतम माग २०८० सालमा बढेर १ हजार ४३८ मेगावाट पुगेको थियो। त्यस्तै, २०८१ सालमा १ हजार ६०२ मेगावाट र २०८२ सालमा १ हजार ६५० मेगावाट पुगेको थियो।

यस वर्षको प्रक्षेपणअनुसार माग १ हजार ७०० मेगावाट पुग्नेछ। यसरी चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४ सय मेगावाटले वृद्धि हुने देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यस वर्ष लक्ष्मीपूजाको साँझ अनुमान गरिएको माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुनेछ। उक्त समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको उनले बताए। उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने र सहज रूपमा व्यवस्थापन गर्न सकिने प्राधिकरणको भनाइ छ।

तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राख्ने तयारी गरेको छ । पर्व अवधिभर प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने तथा प्रसारण लाइन र वितरण प्रणालीमा हुन सक्ने समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र आवश्यक मर्मतसम्भारका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *