एमालेको नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेको छ । सभामुख अग्नि सापकोटाले रोष्ट्रमबाट विनियोजन विधेयक पारित भएको घोषणा गरिरहँदा वेलमा उभिएका एमाले सांसदहरूले नाराबाजी गरिरहेका थिए ।
प्रतिपक्षी नेकपा एमालेले जारी राखेको संसद् अवरोधका कारण सरकारले समयभित्रै बजेट पारित गर्न सकेको थिएन।

विनियोजन विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुने अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए। आफ्नो दलले निष्कासन गरेका १४ सांसदहरूको पद सभामुख अग्निप्रसाद सापकोटाले रिक्त नगरेको विरोधमा एमालेले जारी संसद् अधिवेशनको पहिलो बैठकबाटै प्रतिनिधिसभामा नाराबाजी र अवरोध जारी राखेको छ।

सांसदहरूको होहल्लाबीच संसद्‌मा बजेटबारे जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत् घोषणा गरेको बजेटमा सामान्य हेरफेर मात्रै गरिएको बताए।

अर्थमन्त्री शर्माले भने, ‘अध्यादेशमार्फत् आएको बजेटलाई निरन्तरता दिई करिब ३ प्रतिशत बजेट मात्रै हेरफेर गरिएको कुरा म जानकारी गराउन चाहन्छु ।’ एमालेले बजेट छलफलमा भाग नलिएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्रै विनियोजन विधेयकको छलफलमा भाग लिएका थिए।

प्रतिनिधिसभामा प्रस्तुत हुने बजेटमा प्रमुख प्रतिपक्ष दल लगायत प्रतिपक्षी सांसदहरूले संशोधन दर्ता गर्ने प्रचलन रहे पनि यो पटक प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले बजेट प्रतिस्थापन विधेयकमा संशोधन दर्ता गराएनन्।

नेमकिपाका सुवालले दर्ता गराएको संशोधन सदनको बहुमतले अस्वीकृत गरेको सभामुखले जानकारी गराए। प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित अन्य दुई विधेयक राष्ट्र ऋण तथा उठाउने र आर्थिक विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएको छ।

गत जेठ १५ गते केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् घोषणा गरेको बजेट प्रतिस्थापन गर्ने विधेयक समयभित्रै पारित नभएपछि गत बुधवारबाट सरकार बजेट खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ।

संसद्‌बाट बजेट अनुमोदन गर्नुपर्ने संवैधानिक र कानुनी समयसीमाभित्र बजेट पारित नभएपछि सरकारलाई सीमित विषयमा बाहेक खर्च गर्न बन्देज लागेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *