काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनको जिम्मेवारी पाए पनि त्यसलाई सही ढंगले सञ्चालन गर्न नसके देशले दुःख पाउने बताएका छन् । सरकार प्रभावकारी रूपमा सञ्चालन हुनु मुलुकको हितसँग जोडिएको भन्दै उनले प्रतिपक्षमा रहेर पनि कांग्रेसको विशेष जिम्मेवारी रहने बताएका हुन् ।
छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले निर्वाचनबाट प्राप्त जनादेशअनुसार प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । सरकार सञ्चालनको जिम्मेवारी रास्वपाले पाए पनि सरकार गलत दिशामा गए त्यसको असर देश र जनताले भोग्नुपर्ने उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसको राष्ट्रिय जिम्मेवारी छ । अघिल्लो निर्वाचनबाट नागरिकले हामीलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएपछि हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाउने जिम्मेवारी पाएको छ । तर सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ,’ उनले भने, ‘ढंगले नचलिरहेको बेलामा हाम्रो पनि विशेष जिम्मेवारी छ ।’
थापाले कांग्रेसलाई घेराबन्दी र षड्यन्त्रबाट कमजोर बनाउन नसकिने दाबीसमेत गरे । विगतमा पनि पार्टीले यस्ता चुनौती सामना गर्दै आएको उल्लेख गर्दै उनले अहिलेका चुनौतीलाई पनि चिरेर अघि बढ्ने बताए ।
कांग्रेसमाथि घेराबन्दी र षड्यन्त्र भइरहेको भन्ने चर्चालाई सामान्य रूपमा लिएको बताउँदै उनले यस्ता परिस्थिति विगतमा पनि आउने र जाने गरेको उल्लेख गरे । ‘हामी ती सबैलाई चिरेर गइहाल्छौँ, कुनै ठूलो कुरा छैन । धेरै पटक आए, गए । हामी चिरेर जान्छौँ,’ उनले भने ।
उनले कांग्रेसको मुख्य चासो सरकारमा जाने वा बाहिर रहनेभन्दा पनि देशको समय खेर नजाओस् र जनताले दुःख पाउन नपरोस् भन्ने रहेको बताए । आगामी पाँच वर्ष मुलुकका लागि महत्त्वपूर्ण भएकाले त्यसको सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।
‘चार वर्षपछि फेरि चुनाव आउँछ, फेरि जाउँला । कहिले सरकारमा भइन्छ, कहिले बाहिर भइन्छ, केही छैन । तर देशको समय खेर नजाओस्, देशले दुःख नपाओस् । यो पाँच वर्षको समय सदुपयोग होस् भन्ने हाम्रो कुरा हो,’ थापाले भने ।
यसैबीच, थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ पर्व मनाउन सुरु गरेको स्मरण गरे । त्यतिबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्रै छठ मनाउने गरिएको उनले बताए ।
दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाएको उल्लेख गर्दै उनले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन आएको बताए । पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही फर्किएर क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि उनले जनाए ।
पार्टीको अधिवेशन प्रक्रिया र आगामी स्थानीय निर्वाचनको तयारीबारे बोल्दै थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने योजना रहेको जानकारी दिए ।
उनका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न मुख्य राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति निर्धारणबारे थप स्पष्ट हुने उनले बताए । थापाले आगामी निर्वाचनमा सर्लाहीका सबै पालिकामा कांग्रेसलाई एकताबद्ध रूपमा परिचालन गर्ने पनि बताए ।





