काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र घरमै पुगेर बुझाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र सुरुमा कार्कीले बुझ्न अस्वीकार गरेका थिए। त्यसपछि गृह मन्त्रालयका एक कर्मचारीले १८ कात्तिकमा कार्कीकै निवासमा पुगेर नियुक्तिपत्र बुझाएको उच्च स्रोतले जनाएको छ।
‘उहाँले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ स्रोतले भन्यो।
१८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले एआईजी डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक बनाएको थियो।
कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ।
यता, सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन्। आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै उनले रिट निवेदन दायर गरेका हुन्।
उनको रिटमाथि सोमबारका लागि सुनुवाइको पेसी तोकिएको भए पनि सार्वजनिक बिदाका कारण उक्त दिन सुनुवाइ नहुने भएको छ।
सरकारको निर्णयपछि आईजीपी पदबाट हटाइएका कार्कीले कानुनी बाटो रोजेका छन् भने नेपाल प्रहरीको नेतृत्वमा मनोजकुमार केसी नियुक्त भइसकेका छन्।





