नेपाललाई लगातार तेस्रो वर्ष पनि ‘बीबी माइनस’ रेटिङ, आर्थिक वृद्धि ३.४ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ । नेपालले लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङबाट ‘बीबी माइनस’ सार्वभौम साख मूल्यांकन प्राप्त गरेको छ । फिचले नेपालको रेटिङसम्बन्धी दृष्टिकोण (आउटलुक) स्थिर रहेको जनाएको छ ।

फिचका विश्लेषकहरूको टोलीले गत कात्तिक दोस्रो साता नेपाल आएर विभिन्न सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार, पूर्वअर्थमन्त्री तथा अर्थविद्सँग छलफल गरी गरेको मूल्यांकनका आधारमा यस वर्ष पनि अघिल्ला दुई वर्षकै रेटिङलाई निरन्तरता दिएको हो । नेपालले पहिलो पटक ७ मंसिर २०८१ र दोस्रो पटक २ मंसिर २०८२ मा ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो ।

फिचका अनुसार नेपालको सरकारी तथा बाह्य ऋण न्यून हुनु, अधिकांश ऋणको ब्याजदर कम रहनु र बाह्य क्षेत्रका सूचक बलियो हुनु सकारात्मक पक्ष हुन् । त्यस्तै, बहुपक्षीय वित्तीय स्रोतमा सहज पहुँच तथा जलविद्युत् क्षेत्रको विकासले नेपालको मध्यमकालीन आर्थिक वृद्धिको सम्भावना बढाएको फिचको विश्लेषण छ ।

यद्यपि, नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र सुशासनसम्बन्धी सूचक ‘बीबी’ श्रेणीका अन्य मुलुकको तुलनामा कमजोर रहेको फिचले औँल्याएको छ । अर्थतन्त्र अझै अविकसित अवस्थामा रहेकाले बाह्य झट्का तथा प्राकृतिक विपद्को जोखिमसमेत उच्च रहेको उसको निष्कर्ष छ ।

फिचले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको वास्तविक आर्थिक वृद्धि ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धि ३.९ प्रतिशत थियो । सन् २०२६ अगस्टमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षतिले निकट अवधिको आर्थिक वृद्धिमा असर पर्ने फिचको अनुमान छ ।

उक्त बाढीले नेपालको कुल जडित विद्युत् उत्पादन क्षमताको १० प्रतिशतभन्दा बढी प्रभावित पारेको थियो । यसबाट विद्युत् उत्पादन तथा प्रसारण, यातायात सम्पर्क, पर्यटन र औद्योगिक गतिविधिमा अवरोध सिर्जना भएको फिचले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८४/८५ मा भने नेपालको आर्थिक वृद्धि उल्लेख्य सुधार भएर ५.२ प्रतिशत पुग्ने फिचको प्रक्षेपण छ । पुनर्निर्माणका गतिविधिले तीव्रता पाउने, जलविद्युत् आयोजना र विद्युत् प्रसारण पूर्वाधार पुनःस्थापना हुने तथा उत्पादन गतिविधि सामान्य अवस्थामा फर्किने अपेक्षाले आर्थिक वृद्धिमा सुधार आउने उसको अनुमान छ ।

तर, पुनर्निर्माणमा ढिलाइ भए उत्पादन क्षमताको पुनःस्थापनामा अवरोध आउन सक्ने फिचले चेतावनी दिएको छ । त्यस्तै, इरानसँगको द्वन्द्व लम्बिए ऊर्जा तथा मल आयात प्रभावित हुने, आपूर्ति अभाव बढ्ने, व्यापारका सर्त बिग्रने र प्रमुख पर्यटकीय स्रोत बजारबाट आउने यात्रुको संख्या घट्न सक्ने जोखिमसमेत औँल्याइएको छ । यस्ता बाह्य जोखिमले आगामी वर्ष नेपालको आर्थिक वृद्धिलाई प्रभावित पार्न सक्ने फिचको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *