काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ९६ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा ०.४० प्रतिशतले बढेको हो ।
नाफामा सामान्य सुधार देखिए पनि कम्पनीको जीवन बीमा कोष र खुद आर्जित बीमाशुल्कमा भने उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा जीवन बीमा कोष २८.५३ प्रतिशतले बढेर २६ अर्ब ८३ करोड ३१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कोषमा २० अर्ब ८७ करोड ७१ लाख ५९ हजार रुपैयाँ सञ्चित थियो ।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २३.१२ प्रतिशतले वृद्धि भएर २ अर्ब १९ करोड ४२ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी पनि १८.०४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ९९ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा २ अर्ब ६५ करोड ५८ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको हो ।
यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ ६८.४५ प्रतिशतले बढेर ६० करोड ६२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोज मसान्तसम्म यस्तो रकम ३५ करोड ९८ लाख ८३ हजार रुपैयाँ थियो । विपत्ति जगेडा कोष पनि १४.८६ प्रतिशतले वृद्धि भएर २१ करोड ३५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा उक्त कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९३ पैसाबाट बढेर ११ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११८ रुपैयाँ २१ पैसा कायम भएको छ ।





