आज भाइटीका, ११ बजेर ७ मिनेटमा उत्तम साइत

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउन आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेछ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत परिकार दिने तथा दाजुभाइले पनि दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान गर्ने चलन छ।

भाइटीकामा दिदीबहिनीले तेलको धाराले दाजुभाइलाई छेकेर पाँच रङको टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्‍याउने परम्परा छ। धार्मिक मान्यताअनुसार यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै पूजा आराधना गर्ने गर्छन्।

तिहारको पाँचौँ तथा अन्तिम दिनका रूपमा मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *