काठमाडौँ। सुदूरपश्चिम रोयल्सले एनपीएल क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
एनपीएलका दुवै सिजन फाइनल पुगेपनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले महत्त्वपूर्ण खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले हराउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको हो । सुदूरपश्चिमले ६ खेलबाट ८ अंक बनाएको छ । जनकपुर भने समान खेलबाट ४ अंक मात्र बनाउन सकेको छ । उसको प्लेअफको सम्भावना कमजोर भएको छ ।
१२१ रनको सामान्य लक्ष्य दिएको भएपनि सुदूरपश्चिमले उत्कृष्ट बलिड गर्दै जनकपुरलाई मात्र ९३ रनमा अलआउट गर्न सफल भयो । सुदूर पश्चिमका लागि स्कट कुगेलेजिनले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, अनिल खरेल, इशान पाण्डे, थरिन्दु रत्नायके र हेमन्त धामीले एक एक विकेट लिए ।
जनकपुरका तृतराज दासले रनआउट हुनु अघि बनाएको २१ रन नै सर्वाधिक रह्यो । यस्तै, जेमि निसमले २०, आदित्य महताले १० र राहुल यादवले ११ रन बनाउनु बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
११ रनमा पहिलो विकेट गुमाएको जनकपुरले १५ मा दोस्रो, २५ मा तेस्रो, ४२ मा चौथो, ४६ मा पाँचौँ, ४७ मा छैटौँ, ५७ मा सातौँ, ६१ मा आठौँ, ८२ मा नवौँ र ९३ मा दशौँ विकेट गुमाएको थियो । जनकपुरका कुनै पनि ब्याटरले धैर्यतापूर्वक ब्याटिड गरेर टिमलाई जिताउने धैर्यता राखेको देखिएन । हरमित सिंह र जेमि निमसले समेत विकेट पतनको शृंखलामा विराम लगाउन सकेनन् भने सँधै जस्तै अनिल साह बेलैमा बाटो लागेका थिए ।
ओपनर साह २ र अर्का ओपनर आदित्य मेहता १० रनमा आउट भएसँगै जनकपुरको संकट शुरु भइसकेको थियो । त्यस्तै विदेशी खेलाडी हेरि टेक्टर १ र बु्रल ८ रनमा पेबिलियन फर्के । ठुलो आशा गरिएका जेमि निसमले टोलीलाई जिताउने क्षमता राख्ने भए पनि उनले ब्याटिडले त्यो आशा पूरा गर्न सकेन ।
निसमले जारी सिजनमा अपेक्षा अनुसारको खेल्न सकेका छैनन् । आजको खेलमा पनि उनी चुक्न पुगे । जसको मूल्य जनकपुरले चुकाउनु पर्नेछ ।
त्यसअघि, त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए ।
यस्तै आरिफ शेख ११ रनको योगदान गर्दा सेफ जेब र विनोद भण्डारीले समान १० रन बनाए । यसैगरी स्कट कुगेलाइन ६ रनमा, अनिल खरेल ४ रनमा इशान पाण्डे ३ रनमा र कप्तान दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए।
जनकपुरको घातक बलिङमा सुदूपश्चिमको टप अडर ब्याटिङ लाइन ध्वस्त भएको थियो। जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशी, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए। चार ओभर बलिङ कप्तान हरमितले मात्र १७ रन खर्चिए।
दुवै टोलीले अब एक एक खेल मात्र खेल्न बाँकी छ ।




