दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय चालक योगेश सिम्खडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय यात्रु रने सार्की छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
कालीकोटबाट विषादी सेवन गरेका बिरामीलाई लिएर सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप आज काफलतोलीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सार्की र सिम्खडासहित छ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ।




