काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जनीकुमार झाले बताएका छन् ।
उनका अनुसार क्यान्सरको उपचारभन्दा पनि समयमै रोग पहिचान र जोखिम न्यूनीकरणका उपायमा जोड दिन आवश्यक छ । झाका अनुसार सबै प्रकारका क्यान्सर रोकथाम गर्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा धूमपानसँग सम्बन्धित फोक्सोको क्यान्सरजस्ता केही क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि नियमित स्क्रिनिङ र जनचेतना आवश्यक रहेको उनले बताए ।
महिलामा स्तन क्यान्सर पहिचानका लागि म्यामोग्राम तथा पाठेघरको मुखको क्यान्सरका लागि स्क्रिनिङ परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय अस्पतालले निःशुल्क म्यामोग्राम सेवा दिँदासमेत अपेक्षित रूपमा महिला परीक्षणका लागि नआएको उनले बताए ।
‘३५ वर्ष र ४० वर्ष कटेका महिलाले म्यामोग्राम गराउनुपर्छ भन्ने विषयमा अझै पर्याप्त जागरुकता छैन,‘ झाले भने,‘सरकारले पनि पाठेघरको मुखको क्यान्सरका लागि ख्क्ष्ब् लगायतका स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । यसलाई प्रभावकारी बनाउन जनचेतना बढाउनुपर्छ ।’
उनले क्यान्सरसम्बन्धी जनचेतना अभियान निरन्तर सञ्चालन गर्न सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने बताए । क्यान्सरको जोखिम, नियमित परीक्षण र प्रारम्भिक पहिचानका विषयलाई निरन्तर सार्वजनिक बहसमा ल्याउनुपर्ने उनको भनाइ छ । झाका अनुसार क्यान्सरका बिरामी बढ्नुमा ढिलो स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पनि एउटा कारण हो । मानिसले नियमित रूपमा आफ्नो स्वास्थ्यको ‘प्रिभेन्टिभ सर्भिसिङ’ नगर्ने र समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेको उनले बताए ।
‘मानिसले आफ्नो शरीरलाई पनि नियमित रूपमा सर्भिसिङ गर्नुपर्छ। तर हामी समस्या नआएसम्म परीक्षण गर्दैनौँ,‘ उनले भने,‘रोगले च्यापेपछि मात्रै अस्पताल पुग्ने प्रवृत्तिले उपचार जटिल बन्न सक्छ ।’
नेपालमा क्यान्सरलगायत जटिल रोगको उपचारका लागि आवश्यक विज्ञ जनशक्ति उपलब्ध भए पनि उनीहरूले काम गर्ने वातावरण, उपकरण र पूर्वाधारमा अझै सुधार आवश्यक रहेको झाले बताए । उनका अनुसार चिकित्सकलाई मात्र एउटा अस्पताल वा स्वास्थ्य संस्थामा पठाएर प्रभावकारी उपचार सेवा सञ्चालन गर्न नसकिने अवस्था छ । चिकित्सकसँगै नर्सिङ, फार्मेसी, प्रयोगशाला र रेडियोलोजी सेवासहितको स्वास्थ्य टोली तथा आवश्यक उपकरण सुनिश्चित गर्नुपर्ने उनले बताए ।
‘कुनै ठाउँमा चिकित्सक पठाउने हो भने टिम नै पठाउनुपर्छ । चिकित्सक, नर्सिङ, फार्मेसी, ल्याब र रेडियोलोजी सेवा आवश्यक हुन्छ,‘ उनले भने । चिकित्सकलाई मात्र सरुवा गरेर आवश्यक पूर्वाधार नदिँदा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना हुने उनको भनाइ छ । स्वास्थ्य संस्थामा प्रयोगशाला, एक्स–रे, सीटी स्क्यान, औषधि लगायतका आधारभूत सेवा उपलब्ध भएपछि मात्र चिकित्सकले प्रभावकारी रूपमा सेवा दिन सक्ने उनले बताए ।
नेपालमा क्यान्सर उपचारको अवस्था कमजोर रहेको भाष्यका कारण आर्थिक रूपमा सक्षम केही बिरामी उपचारका लागि विदेश जाने गरेको झाले बताए । नेपालमा आवश्यक विशेषज्ञ चिकित्सक र उपचार प्रविधि विस्तार हुँदै गएको भन्दै उनले बिरामीको विश्वास बढाउनुपर्ने आवश्यकता औंल्याए ।
‘नेपालमा उपचार राम्रो हुँदैन भन्ने भाष्यले पनि पैसा भएका मानिस बाहिर जाने गरेका छन्,‘उनले भने । स्वास्थ्य संस्थामा आवश्यकताअनुसार मात्र महँगा उपकरण राख्ने नीति आवश्यक रहेको उनको भनाइ छ । प्रत्येक अस्पतालमा सीटी स्क्यान र एमआरआई अनिवार्य गर्नेभन्दा जनसंख्या र बिरामीको चापका आधारमा उपकरणको आवश्यकता निर्धारण गर्नुपर्ने उनले बताए ।
उनका अनुसार एउटा एमआरआई उपकरणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले आवश्यकता र उपयोगिताको अध्ययन नगरी प्रत्येक अस्पतालमा उपकरण राख्दा स्रोतको प्रभावकारी उपयोग नहुन सक्छ । महँगा स्वास्थ्य उपकरण खरिदमा ठूलो रकम विदेशिने भएकाले यसको उपयोगिता र आवश्यकता हेरेर नीति बनाउनुपर्ने उनले बताए ।
झाले स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई तत्काल प्रतिफल खोज्ने दृष्टिकोणबाट हेर्न नहुने बताए । स्वास्थ्य क्षेत्रमा लगानी गर्नु स्वस्थ जनशक्ति निर्माण गर्ने लगानी भएको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रमा भएको खर्च स्वस्थ जनशक्ति तयार पार्ने खर्च हो । यसलाई किराना पसलको जस्तो आज खर्च ग¥यो, भोलि कति फाइदा भयो भनेर मात्र हेर्नु हुँदैन,‘ उनले भने ।
दुई–तीन दिनमै क्यान्सरको निदान गर्ने दाबी
काठमाडौं क्यान्सर सेन्टरले नयाँ बिरामीको रोग पहिचानलाई छिटो बनाउने प्रयास गरिरहेको झाले बताए । उनका अनुसार नयाँ केसमा दुई–तीन दिनभित्र निदान पूरा गर्ने र त्यसपछि उपचार सुरु गर्ने व्यवस्था गरिएको छ ।
‘बिरामी आएपछि दुई–तीन दिनभित्र नयाँ केसको डाइग्नोसिस गर्ने प्रयास गर्छौं,‘ उनले भने,‘रिपोर्ट तयार भएपछि भोलिपल्ट वा पर्सिपल्टबाटै उपचार सुरु गर्न सकिने गरी काम गरिरहेका छौं ।’
उपचारका क्रममा देखिन सक्ने साइड इफेक्टको व्यवस्थापनसँगै बिरामीलाई पर्याप्त समय दिएर उनीहरूको समस्या सुन्ने व्यवस्था पनि केन्द्रमा गरिएको उनले बताए । बिरामीको उपचार अवधिभर नियमित निगरानी र परामर्शमा जोड दिइएको उनको भनाइ छ ।
झाले काठमाडौं क्यान्सर सेन्टरलाई अरू अस्पतालभन्दा राम्रो भनेर दाबी नगर्ने स्पष्ट पार्दै बिरामीको छिटो निदान, उपचारको सुरुवात र उपचार अवधिभरको हेरचाहलाई प्राथमिकता दिइएको बताए । ‘हामीकहाँ आउने बिरामीलाई पूर्ण समय दिएर उहाँहरूको कुरा सुन्ने, रोगको छिटो डाइग्नोसिस गर्ने र उपचार छिटो सुरु गर्ने प्रयास गर्छौं,‘ उनले भने ।
उनका अनुसार क्यान्सर न्यूनीकरणका लागि राज्यले नियमित स्क्रिनिङ, स्वास्थ्य जनशक्ति, आवश्यक पूर्वाधार तथा उपचार सेवाको विस्तारमा दीर्घकालीन लगानी गर्न आवश्यक छ ।




