काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ८३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी ३७.४२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८७ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल नाफा २२.९० प्रतिशतले वृद्धि भएर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधि विस्तार भएको र त्यसले आम्दानी तथा नाफामा सुधार ल्याएको हो।
नाफामा सुधार भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ पैसा ऋणात्मक रहेको ईपीएस चालु आर्थिक वर्षमा बढेर १ रुपैयाँ ७६ पैसा पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, रिजर्भ तथा सरप्लस १४.३९ प्रतिशतले वृद्धि भएर ११ करोड ९३ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको कुल सम्पत्ति १०.४६ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसैगरी, दीर्घकालीन ऋण ६.७५ प्रतिशतले वृद्धि भएर १ अर्ब ९६ करोड रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।




