काठमाडौँ । नेपालको सेयर बजारमा सोही दिन धितोपत्र खरिद बिक्री गरी राफसाफ गर्न सकिने इन्ट्रा–डे कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नीतिगत प्रक्रिया अघि बढाएको छ। बोर्डले यस प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने लक्ष्यसहित ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी राय–सुझाव मागेको हो।
गत असोज ८ गते जारी गरिएको अवधारणा पत्रका आधारमा बनेको यस मस्यौदामाथि सरोकारवालाहरूले आगामी मङ्सिर ४ गतेभित्र आफ्ना सुझावहरू पेस गर्न सक्नेछन्। इन्ट्रा–डे कारोबार सुरु भएपछि बजारमा तरलता बढ्ने, सेयरको उचित मूल्य निर्धारणमा सघाउ पुग्ने र समग्र कारोबारको गति थप तीव्र हुने बोर्डको विश्वास छ।
इन्ट्रा–डे प्रणाली लागू भएपछि लगानीकर्ताले कुनै पनि सेयर खरिद गरेर सोही कारोबार दिनभित्रै बिक्री गरिसक्नुपर्नेछ अथवा पहिले बिक्री गरेर सोही दिन खरिद गरी आफ्नो कारोबार अवस्था शून्य बनाउनुपर्नेछ । यसमा सेयर लामो समयसम्म होल्ड गर्न पाइने छैन।
कस्ता कम्पनीमा मात्रै गर्न पाइनेछ कारोबार ?
प्रस्तावित नियमावली अनुसार नेप्सेमा सूचीकृत सबै कम्पनीहरूमा यो सुविधा उपलब्ध हुने छैन । बोर्डले तोकेका निश्चित वित्तीय र प्राविधिक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिनेछ।
कम्पनीको बजार पुँजीकरण, दोस्रो बजारमा सेयरको तरलता, दैनिक कारोबार हुने परिमाण, सर्वसाधारणसँग रहेको सेयर सङ्ख्या, मूल्यको उतारचढाव तथा संस्थागत सुशासनका आधारमा कम्पनीहरूको छनोट गरिनेछ। योग्य धितोपत्रहरूको सूची स्टक एक्सचेन्जले समय समयमा अद्यावधिक गरी सार्वजनिक गर्नेछ भने जोखिम देखिएमा सूचीबाट हटाउन वा निलम्बन गर्न सक्नेछ।
ब्रोकरका लागि २० करोड पुँजी र कडा सर्त
इन्ट्रा–डे कारोबार सेवा प्रदान गर्न चाहने धितोपत्र दलाल कम्पनीहरूले बोर्डबाट अनिवार्य रूपमा छुट्टै स्वीकृति लिनुपर्नेछ। यसका लागि ब्रोकरको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने र नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने प्रस्ताव गरिएको छ।
यसका साथै, ब्रोकर कम्पनीसँग भरपर्दो जोखिम व्यवस्थापन प्रणाली, कारोबार प्रणालीसँग एकीकृत संयन्त्र, व्यवसाय निरन्तरता योजना (बीसीपी), विपद् पुनर्स्थापना योजना र छुट्टै जोखिम व्यवस्थापन अधिकारीको व्यवस्था हुनुपर्नेछ । प्राविधिक र व्यवस्थापकीय मापदण्ड पूरा नगर्ने ब्रोकरलाई यो सेवा सञ्चालन गर्न रोक लगाइनेछ।
लगानीकर्ताको क्षमता परीक्षण र मार्जिन व्यवस्था
नियमावली अनुसार जो–कोही लगानीकर्ताले सिधै इन्ट्रा–डे कारोबार गर्न पाउने छैनन्। ब्रोकरले लगानीकर्ताको वित्तीय स्थिति, बजार सम्बन्धी अनुभव र जोखिम वहन क्षमताको सिटेबिलिटी टेस्ट गर्नुपर्नेछ।
यसका लागि लगानीकर्ताको आम्दानीको स्रोत, सम्पत्ति विवरण र २० प्रतिशतसम्मको सम्भावित घाटा सहन सक्ने मानसिक तथा वित्तीय क्षमता जाँच गरिनेछ । यसैका आधारमा लगानीकर्तालाई न्यून, मध्यम र उच्च जोखिम समूहमा वर्गीकरण गरिनेछ।
जोखिम व्यवस्थापनका लागि लगानीकर्ताले प्रारम्भिक, कायम राख्नुपर्ने लगायतका विभिन्न मार्जिन रकम ब्रोकरकहाँ राख्नुपर्नेछ। यदि बजार उतारचढावका कारण मार्जिन अपुग भएमा र लगानीकर्ताले थप रकम जम्मा नगरेमा ब्रोकरले प्रणालीमार्फत स्वचालित रूपमा खुला कारोबार बन्द गरिदिन सक्नेछ । वित्तीय क्षमताभन्दा बढी कारोबार हुन नदिन सीमा निर्धारण समेत गरिनेछ।
कडा निगरानी र चरणबद्ध कार्यान्वयन
बजारमा कृत्रिम मूल्य सिर्जना हुन नदिन र दुरुपयोग रोक्न नेप्सेले कारोबारको ‘रियल टाइम’ निगरानी गर्नेछ। ब्रोकरले आफ्ना ग्राहकको पैसा र सेयरलाई आफ्नै सम्पत्तिबाट अलग राख्नुपर्नेछ भने ग्राहकको सम्पत्ति अनधिकृत प्रयोजनमा प्रयोग गर्न पूर्ण बन्देज लगाइनेछ।
इन्ट्रा–डे कारोबार उच्च जोखिमयुक्त समेत हुने भएकाले बोर्ड, नेप्से र ब्रोकरले लगानीकर्ता सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने मस्यौदामा उल्लेख छ। बोर्डले यो प्रणालीलाई एकै पटक नभई निश्चित कम्पनी, छानिएका ब्रोकर र योग्य लगानीकर्तामार्फत चरणबद्ध रूपमा परीक्षण गर्दै पूर्ण कार्यान्वयनमा ल्याउने रणनीति लिएको छ।
हाल मस्यौदा छलफलकै चरणमा रहेकाले सरोकारवालाको सुझाव समेटेर यसलाई अन्तिम रूप दिइनेछ।




