नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले काठमान्डुलाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको विराटनग ८३ रनमै अलआउट भयो । विराटनगरको ब्याटिङ लाइन फ्लप सावित भयो । विराटनगरले पावरप्लेमा ३ विकेट गुमाएर २३ रनमात्रै बनायो । १० ओभर सकिँदा विराटनगर ७ विकेट गुमाएर ३७ रनको स्थितिमा थियो ।
रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । यस्तै, एन्जेलो म्याथ्युजले २२ रन जोडे । लडखडाउँदै रन लिन दौडिएका उनले ३१ बल खाए । विराटनगर तीन ब्याटरले खाता समेत खोल्न सकेनन् । अन्तिम खेल खेलेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल ३ रनमात्रै जोडेर पभेलियन फर्किए ।
उच्च लयमा रहेका लोकेश बमको ब्याट आज भने चल्न सकेन । उनले १० बलमा ६ रनमात्रै जोडे । बसिर अहमदले १० रनमात्रै बनाए । विराटनगरको इनिङ्स ध्वस्त पार्न काठमान्डुका सन्तोष यादवले तीन तथा सहन आरच्चिगेले दुई विकेट लिए । करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले एक एक सफलता हात पारे ।




