बढी समय काम लगाउँदा अतिरिक्त सुविधा दिन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियमित कार्यालय समयभन्दा बढी तथा सार्वजनिक बिदाका दिन कर्मचारीलाई काममा लगाउँदा अतिरिक्त सुविधा उपलब्ध गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले श्रम ऐनविपरीत कर्मचारीलाई काममा लगाउने र त्यसबापतको सुविधा नदिने प्रवृत्ति रोक्न सबै इजाजतप्राप्त बीमकलाई परिपत्र जारी गरेको हो।

प्राधिकरणले व्यावसायिक आवश्यकताको बहानामा कर्मचारीलाई अतिरिक्त समय काममा लगाएर श्रम अधिकारबाट वञ्चित गर्न नपाइने स्पष्ट पारेको छ। नियमित कार्यालय समयबाहेक तथा सार्वजनिक र साप्ताहिक बिदाका दिन काममा लगाउँदा प्रचलित श्रम ऐनअनुसार सट्टा बिदा वा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ।

बीमा कम्पनीहरूले सार्वजनिक बिदा र कार्यालय समयपछि पनि कर्मचारीलाई काममा लगाउने तर त्यसबापत कुनै अतिरिक्त सुविधा नदिएको गुनासो प्राधिकरणमा पुगेपछि यस्तो निर्देशन जारी गरिएको हो।

प्राधिकरणको निर्देशनले बीमा क्षेत्रमा कार्यरत कर्मचारीको श्रम अधिकार संरक्षणसँगै कम्पनीहरूलाई श्रम कानुनको पालना र संस्थागत सुशासन कायम गर्न दबाब पर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *