आईजीपी परिवर्तनबारे रविको जवाफ : ‘निर्णयको औचित्य सरकारले पुष्टि गर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन्। चितवन पुगेका सभापति लामिछानेलाई आईजीपी हेरफेरबारे सोधिएको प्रश्नको जवाफ दिँदै सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने बताए।

उनले भने, ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला। सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला।’

सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए। उनले अगाडि भने, ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन। पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन। सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ।’

पार्टीले सरकारलाई आईजीपी, डीआईजी, इन्स्पेक्टर वा सिडिओ फेर नभन्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *