काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरमा कात्तिक २७ गतेदेखि किसानबाट समर्थन मूल्यमा धान खरिद गर्ने भएको छ ।
कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ ।
प्राथमिक खरिद समिति कञ्चनपुरको बैठकले गरेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय महेन्द्रनगरले धान खरिद गर्न लागेको हो ।
कम्पनीका अनुसार धान बिक्री गर्न चाहने किसानलाई कात्तिक १९ र २० गते कार्यालय परिसरबाट कुपन वितरण गरिनेछ ।
कुपन प्राप्त गरेका किसानले तोकिएको मितिमा महेन्द्रनगरस्थित गोदाममा धान ल्याउनुपर्नेछ । कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा धानको काँटा गरी खरिद गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्र धान खरिद गर्नेछ । धानमा पराल, भुस, पोकटा, माटो र ढुङ्गा मिसिएको हुनुहुँदैन । नमुना परीक्षणबाट गुणस्तर सुनिश्चित भएपछि मात्र धान काँटा गरिने सूचनामा उल्लेख छ ।
धान बिक्री गर्नुअघि कुपन लिन अनिवार्य गरिएको छ । कुपनमा उल्लेख भएको मितिमा धान नल्याए कम्पनीले खरिद गर्न बाध्य नहुने जनाएको छ । खरिद गरिएको धानको रकम किसानको बैंक खातामा सिधै जम्मा गरिनेछ ।
कुपन लिन आउँदा किसानले जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । जग्गा ठेक्कामा लिएर खेती गर्ने किसानले ठेक्का सम्झौता वा वडा कार्यालयको सक्कल सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
त्यस्तै, धान बिक्री गर्ने समयमा किसानको पहिचानका लागि सम्बन्धित वडा कार्यालयले जारी गरेको सिफारिसको सक्कल प्रति अनिवार्य बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।




