तीन महिनामै १६ अर्बको विद्युत् निर्यात, भारततर्फ क्षमता बढ्यो, बङ्गलादेशतर्फ ४० मेगावाट पुनः सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो १५ दिनको कार्यप्रगतिअनुसार साउन, भदौ र असोज महिनामा विद्युत् निर्यातबाट उक्त रकम बराबरको कारोबार भएको हो।

मन्त्रालयका अनुसार असोज महिनामा मात्रै नेपालले भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरेको छ। यसबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

यसैबीच, भारततर्फ थप ३१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त भएसँगै नेपालको कुल निर्यात क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

त्यस्तै, बाढीका कारण केही समयदेखि अवरुद्ध रहेको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि पुनः सञ्चालनमा आएको छ। मन्त्रालयका अनुसार बाढीका कारण रोकिएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *