काठमाडौँ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट प्रभावित क्षेत्रका बीमितहरूको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले ८ बुँदे परिपत्र जारी गर्दै प्रभावित बीमितको मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियालाई सरल र झन्झटरहित बनाउन निर्देशन दिएको हो।
गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित बीमितहरूको हितलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
निर्देशनअनुसार अब मृत्यु दाबी भुक्तानीका लागि बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाएर सामान्य निवेदन दिए पुग्नेछ। दाबीकर्ताको पहिचान तथा नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा लालपुर्जा पेस गर्न सकिनेछ।
त्यस्तै, मृत्यु वा बेपत्ता भएको पुष्टि गर्न स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई मान्यता दिनुपर्नेछ। बाढीका कारण सक्कल बीमालेख नष्ट भएको अवस्थामा कम्पनीको अभिलेखमा रहेको विवरणका आधारमा दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। बीमितले माग गरेमा कम्पनीले बीमालेखको प्रतिलिपिसमेत निःशुल्क उपलब्ध गराउनुपर्नेछ।
बाढीका कारण बीमा कम्पनीका कागजात तथा अभिलेख नष्ट भएको अवस्थामा बीमित र अभिकर्ताले उपलब्ध गराएको विवरणका आधारमा अभिलेख अद्यावधिक गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।
यसैगरी, बीमाशुल्क वा कर्जाको किस्ता तिर्न नसक्ने प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज तथा जरिवाना नलिई समय थप गर्नुपर्ने व्यवस्था गरिएको छ।
बेपत्ता भएका बीमितको हकमा भने हकवालाले पछि बीमित जीवित भेटिएमा कानुनबमोजिम सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी गर्नुपर्ने प्राधिकरणको निर्देशन छ।
प्राधिकरणको यो व्यवस्थाले बाढीबाट प्रभावित बीमित तथा उनीहरूका परिवारलाई बीमा दाबी प्राप्त गर्न सहज हुने र आर्थिक कठिनाइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




