काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ४७ लाख १७ हजार रुपैयाँ घाटामा थियो ।
कम्पनीको खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थामा रकम फिर्ता हुनुले नाफा सुधारमा सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४५.५६ प्रतिशतले बढेर ४ करोड ६८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३ करोड २२ लाख ६ हजार रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २९.३७ प्रतिशतले बढेर ५ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ करोड २१ लाख ३० हजार रुपैयाँ थियो । यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने घटेको छ । गत वर्ष ५३ लाख ९ हजार रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा ४२ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको कर्जा तथा अन्य नोक्सानी व्यवस्थामा २ करोड १४ लाख ६७ हजार रुपैयाँ फिर्ता भएको छ । गत वर्षको सोही अवधिमा यस शीर्षकमा ५ करोड २१ लाख ६१ हजार रुपैयाँ खर्च भएको थियो । यसले कम्पनीको सञ्चालन नाफामा उल्लेख्य सुधार ल्याएको छ । गत वर्ष ५ करोड ८४ लाख ७९ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनीले यसपटक ३ करोड ५ लाख १८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा ३ करोड ६ लाख १७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा ९१ लाख ८५ हजार रुपैयाँ आयकर खर्च छुट्याएपछि खुद नाफा २ करोड १४ लाख ३२ हजार रुपैयाँ कायम भएको हो ।
नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सकारात्मक बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ९ रुपैयाँ ६३ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपातमा समेत सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १०.१९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर चालु आर्थिक वर्षको असोज मसान्तमा ९.३० प्रतिशत कायम भएको छ ।
असोज मसान्तसम्म कम्पनीको निक्षेप ६ अर्ब ४३ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ६ अर्ब ३० करोड ८९ लाख रुपैयाँ थियो । त्यस्तै, कर्जा तथा सापटी ४ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको यस्तो कर्जा ४ अर्ब १८ करोड ३५ लाख रुपैयाँ थियो ।




