काठमाडौं । न्यायाधीशहरूको आचरण र न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला नेपाल बार एसोसिएसनले पछिल्ला विवादबारे अध्ययन गर्ने भएको छ । न्यायालयसँग जोडिएका घटनाक्रमको तथ्य पत्ता लगाई संस्थागत विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले बारले अध्ययन समिति गठन गरेको हो ।
सोमबार बसेको नेपाल बार एसोसिएसनको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य छन् । बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
समितिले न्यायपालिकासँग सम्बन्धित पछिल्ला विवाद, सार्वजनिक भएका टिप्पणी तथा न्यायाधीशहरूको आचरणबारे तथ्य संकलन गरी अध्ययन गर्नेछ । न्यायिक निष्पक्षता, संस्थागत विश्वसनीयता र सुधारका उपायसमेत समेटेर एक महिनाभित्र प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिइएको छ ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटा र केही न्यायाधीशबीच भएको भनिएको भेटघाट तथा संवाद सार्वजनिक भएपछि न्यायालयको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
यसैक्रममा सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालबीच मुद्दामामिलासम्बन्धी विषयमा भएको भनिएको संवादको च्याट सार्वजनिक भएको थियो । त्यसपछि न्यायाधीश फुयालसहित केही व्यक्तिबीच होटल हिमालयमा भेटघाट भएको विवरणसमेत बाहिरिएको थियो ।
न्यायाधीश फुयालले भने सापकोटासँग कुराकानी र भेटघाट भएको स्वीकार गरेका छन् । यिनै घटनाक्रमपछि न्यायाधीशहरूको आचरण र न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको तथ्यगत अध्ययन गर्न बारले समिति गठन गरेको हो ।




