एनपीएलमा काठमान्डु गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै काठमान्डुले प्रतियोगितामा पहिलो जित निकाल्दा कर्णालीले पहिलो हार बेहोरेको छ।

काठमान्डुको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए। करण केसीले ४४, आदिल आलमले २० तथा डेभिड वार्नरले १६ रनको योगदान दिए। त्यस्तै जहानदाद खानले अविजित २२ रन बनाए। काठमान्डुले अतिरिक्त १० रन प्राप्त गरेको थियो।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक-एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। २१ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। हुसैन तलतले ४०, पवन सर्राफले अविजित ३० तथा गुलशन झाले ११ बलमा २० रन जोडे। मार्क वाटले १७ रन बनाए। कर्णालीले अतिरिक्त १३ रन पाएको थियो।

काठमान्डुका लागि करण केसीले दुई विकेट लिए। शाह आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक-एक विकेट हात पारे।

यस जितसँगै काठमान्डु गोर्खाजले एनपीएलमा आफ्नो जितको खाता खोलेको छ भने कर्णाली याक्सले जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *