सुदूरपश्चिमको दोस्रो जित, चितवनलाई पहिलो हार चखाउँदै पाँच विकेटको विजय

काठमाडौँ  । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले हराउँदै १६.४ ओभरमा १३० रनको लक्ष्य भेट्टायो।

सुदूरपश्चिमको यो दोस्रो जित हो र टोलीले ४ खेलबाट ४ अंक जोडेको छ, जबकि चितवनको यो पहिलो हार हो।

चितवनले कीर्तिपुरस्थित टीयू मैदानमा रवि बोपाराको ४९ रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जितपछि ४ खेलबाट ४ अंक जोडेको छ ।

चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाले रद्द हुँदा लुम्बिनी लायन्ससँग १–१ अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ । चितवनको हारपछि अब साविक विजेता लुम्बिनी मात्र तेस्रो संस्करणमा एक मात्र अपराजित टिमको रुपमा छ ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे ।

३ रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । विनोद ११ रन बनाएर आउट भए । त्यसपछि म्याकमुलेनले इशानसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे ।

म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह लगातार आउट हुँदा सुदूरपश्चिम ७०–४ को स्थितीमा पुगेको थियो । तर आरिफ शेख र इशान पाण्डेले पाँचौ विकेटको लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

इशान आउट भएपछि आरिफले शेरफान रथरफोर्डसँग मिलेर सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए । रथरफोर्डले १५ बल खेल्दै २ चौका र१ छक्का मदतमा अविजित २१ रन बनाए । आरिफले २६ बलमा अविजित २० रन जोडे ।

बलिङमा चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ४९ रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।

चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए । अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए ।

विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्का मदतमा १७ रन जोडे । डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाए । टम टेलर ६ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिए । मंगलबार पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *