काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल खुद नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ थियो। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा अधिकांश बैंकको नाफा बढेको छ। केही बैंक घाटाबाट नाफामा फर्किएका छन् भने केहीको नाफा घटेको छ।
नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ५५ करोड ५१ लाख पाँच हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४५.४३ प्रतिशतले नाफा बढाएको हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले एक अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष एक अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष २४.४९ प्रतिशतले बढेको छ।
राष्ट्रिय वाणिज्य बैंक एक अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ नाफासहित तेस्रो स्थानमा छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १७५.५२ प्रतिशतको वृद्धि हासिल गरेको छ।
चौथो स्थानमा रहेको एभरेस्ट बैंकले एक अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ। गत वर्षको एक अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ६.२३ प्रतिशतले बढेको हो।
प्राइम कमर्सियल बैंकले एक अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ। तर, गत वर्षको एक अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँको तुलनामा बैंकको नाफा ५.६२ प्रतिशतले घटेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको पहिलो त्रैमासमा चार करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै नाफा कमाएको बैंकले यस वर्ष २ हजार ५२२.४७ प्रतिशतको वृद्धि हासिल गरेको छ। प्रतिशतका आधारमा नाफा बढाउने बैंकमध्ये यो सबैभन्दा अगाडि छ।
त्यस्तै, एनएमबी बैंकले एक अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा गत वर्षको तुलनामा २७.११ प्रतिशतले बढेको हो। कुमारी बैंकले पनि एक अर्ब सात करोड ४५ लाख पाँच हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सानिमा बैंकले एक अर्ब पाँच करोड १४ लाख ६८ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ र नेपाल बैंकले ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख ४४ हजार रुपैयाँ, हिमालयन बैंकले ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ र प्रभु बैंकले ६० करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख १५ हजार रुपैयाँ र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका छन्। एनआईसी एसिया बैंकको खुद नाफा १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकले १० करोड ९२ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी, सिटिजन्स बैंक घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड चार लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको छ।
समग्रमा अधिकांश बैंकको नाफा बढे पनि प्राइम कमर्सियल बैंकसहित केही बैंकको नाफा घटेको छ। बैंकहरूको नाफामा आएको सुधारले समग्र वाणिज्य बैंकिङ क्षेत्रको वित्तीय नतिजा गत वर्षको तुलनामा सकारात्मक देखिएको छ।




