काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढाएको छ। बैंकले असोज मसान्तसम्म एक अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चार करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको बैंकको नाफा यसपटक करिब २६ गुणाले बढेको हो।
बैंकको सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन नाफा र प्रतिसेयर आम्दानीमा समेत उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १५ करोड दुई लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षमा बढेर एक अर्ब ६९ करोड सात लाख रुपैयाँ पुगेको छ।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर तीन अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले सात अर्ब ४१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने चार अर्ब १४ करोड ५४ लाख रुपैयाँ ब्याज खर्च गरेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। गत वर्ष ५६ करोड ४८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ।
ब्याज तथा शुल्क कमिसनबाट हुने आम्दानीमा सुधार आएपछि बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार अर्ब ३१ करोड छ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा बढेर चार अर्ब ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको करअघिको नाफा गत वर्षको नौ करोड ८७ लाख रुपैयाँबाट बढेर एक अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। नाफामा भएको वृद्धिसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ५३ पैसाबाट बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि विस्तार गरेको छ। असोज मसान्तसम्म बैंकले पाँच खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप पाँच खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ थियो। यसबीचमा निक्षेप १४ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
यस अवधिमा बैंकको कर्जा लगानी तीन खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो लगानी तीन खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ थियो।
बैंकको कुल सम्पत्ति पनि बढेर छ खर्ब २९ अर्ब सात करोड १६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति छ खर्ब १३ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ थियो।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ अर्ब ५९ करोड २० लाख रुपैयाँ सञ्चित छ। यद्यपि, बैंकको सञ्चित मुनाफा पाँच अर्ब १६ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।




