काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । साथै, कुनै पनि समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि धरपकड नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् । उनका अनुसार पत्रकार पक्राउ परेको घटनाबारे प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी थिएन ।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको दाहालले बताएकी छन् ।
समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमा प्रवेश गरेर धरपकड गर्ने कार्य नगर्न पनि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।




