काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत चयन भएका छन्।
एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नवनिर्वाचित अध्यक्ष थकाली चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकर हुन्। उनी वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनका क्षेत्रमा अनुभवी मानिन्छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय चयन भएका छन्। त्यस्तै, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल निर्वाचित भएका छन्।
सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं रहेका छन्।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।
पदभार ग्रहण गर्दै अध्यक्ष थकालीले विकास बैंकिङ क्षेत्रका समसामयिक मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि र मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर तथा असुली सुधारलाई प्राथमिकतामा राख्ने बताए। सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यासको आदानप्रदानमा पनि उनले जोड दिएका छन्।
हाल नेपालमा १७ वटा विकास बैंक सञ्चालनमा छन्। तीमध्ये आठवटा राष्ट्रियस्तरका र नौवटा क्षेत्रीयस्तरका छन्। २०८१ असार मसान्तसम्ममा यी बैंकका १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकले बैंकिङ सेवा लिइरहेका थिए।




