सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै १ अर्ब ५ करोड

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३१.१३ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ४५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल र प्रतिसेयर वितरणयोग्य नाफामा पनि सुधार आएको छ। निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ भने खराब कर्जाको अनुपात घटेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ। त्यस्तै, स्वपुँजीमा प्रतिफल (आरओई) ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ।

बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ २७ पैसा रहेको यस्तो नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २७ रुपैयाँ ५८ पैसा पुगेको हो।

व्यवसाय विस्तारका क्रममा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यसैगरी, खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

निक्षेपको तुलनामा कर्जा प्रवाहको वृद्धि भने कम देखिएको छ। समीक्षा अवधिमा बैंकको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको हो। एक वर्षमा खराब कर्जाको अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *